लौराबाङमा एकै घरका तीन सहिदको २१औं स्मृति दिवस सम्पन्न

२६ असोज २०८२/ सल्यान

सशस्त्र जनयुद्धका क्रममा सहादत प्राप्त तीन जना सहिदहरूको २१औं स्मृति दिवस सल्यानको बागचौर नगरपालिका–४, लौराबाङमा विविध कार्यक्रमका साथ मनाइएको छ।

शनिबार गरिएको स्मृति सभामा सहिद खम्बे पुन (झलकमान), बिमला पुन (चेतना) र लक्ष्मी पुन (सदिक्षा) को योगदान र बलिदानलाई श्रद्धापूर्वक सम्झना गरिएको हो ।

एकै घरका तीन जना सदस्यले जनयुद्धमा सहभागी भई वीरगति प्राप्त गरेको सम्झनामा स्थानीय पार्टी कार्यालय र परिवारजनको संयुक्त पहलमा स्मृति कार्यक्रम आयोजना गरिएको थियो भने,कार्यक्रममा सहिदका परिवारजन, स्थानीयवासी तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका विशेष महाधिवेशन आयोजक समिति सदस्य टेकबहादुर बस्नेतले वर्तमान राजनीतिक अवस्था जटिल रहेको यसलाई समाधान गरेर जनताको पक्षमा लाग्नु पर्नेमा जोड दिनु भयो । नेता बस्नेतले स्मृति सभामा बोल्दै एउटै घरबाट तीन जनाको बलिदानले दिएको सन्देश गहिरो भएको र सहिदले देखेका सपना पूरा गर्न आफुहरु अझ सुदृढ र एकीकृत हुनु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै, आयोजक समितिका सदस्य तथा सल्यान जिल्ला इन्चार्ज कृतिबहादुर पुनले भने, प्रचण्ड नेतृत्वको सरकार नढालिएको भए जिन्जी आन्दोलन जस्ता घटना नहुने बताउनु भयो , उहाँले युवाको ज्यान जोगिन्थ्यो र ऐतिहासिक संरचनाहरू पनि नष्ट नहुने बताउनु भयो । नेता पुनले एकै घरका तीन जना सहिदलाई सम्झदै उहाँहरुको पार्टीको लगानी र बलिदानीलाई रक्षा गर्नु माओवादी धारामा रहेका नेता कार्यकर्ता र शुभचिन्तकहरुको जिम्मा भएको बताउनु भयो ।

 

कर्णाली प्रदेश सभा सदस्य भीमप्रकाश शर्माले सहिदका सपनाहरूलाई व्यवहारमा उतार्न सबैले आफ्नो ठाउँबाट योगदान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रदेश सदस्यहरू हरिबहादुर बुढाथोकी, ( मिलन) र कल्पना पुन रचना लगायतले पनि सहिदहरूको अमर योगदानको स्मरण गर्दै उहाँहरूको विचार र आदर्श भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनु भयो ।

त्यस्तै, सहिदका दाजु खडकबहादुर पुनले सहिदहरूको बलिदान सधैं सम्झनुपर्ने र त्यसलाई प्रेरणाको स्रोत बनाउनुपर्ने धारणा राख्नु भयो । स्मृति दिवसको अवसरमा सहिदहरूको सम्झनामा खौला नजिकै बाँसखोलामा निर्माण गरिएको सहिद स्मारकमा माल्यार्पण र अविर अर्पण गरिएको थियो। त्यसपछि लौराबाङस्थित सहिदहरूको घरमै विशेष कार्यक्रम सम्पन्न गरिएको हो ।

 

वि.सं. २०६१ असोज २५ गते तत्कालीन शाही नेपाली सेनाको खारा ब्यारेकबाट गस्तीमा गएको सेनाले लौराबाङस्थित घरबाटै तीन सहिद हरूलाई गिरफ्तार गरी खौलाको जंगलमा लगेर क्रुर यातनापछि गोली हानी हत्या गरेको थियो।

त्यसै घटनाको सम्झनामा माओवादी केन्द्रले हरेक वर्ष असोज २५ गते “सहिद स्मृति दिवस” का रूपमा मनाउँदै आएको छ।

नेकपा माओवादी केन्द्र बागचौर–४ का अध्यक्ष डिल्लीराज ओलीको अध्यक्षतामा भएको स्मृति सभा कार्यक्रमको संचालन वडा सचिव खड्गबहादुर पुनले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस