२३ असोज २०८२/ सल्यान
सल्यानको शारदा नगरपालिका–१० भाँगाचौरबाट सानिगारे तर्फ विवाहका लागि जन्ती जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार लु.प्र.०२–००१ ज.००२१ नम्बरको जीप बिहीबार दिउँसो शारदा नगरपालिका–९ ज्वालापुरमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेका मध्ये ६० वर्षीया गुमी कवर र १४ वर्षीया सोभा कवर गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको र थप उपचारका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।
अन्य सामान्य घाइतेहरूमा दुलाहा २४ वर्षीय चेतराम गिरी, दुलही २० वर्षीया कमला गिरी, १४ वर्षीया हरीकला कवर, १८ वर्षीय प्रबिन कवर, १४ वर्षीया रेनुका कवर, १७ वर्षीय हेमराज कवर, २६ वर्षीया कुमारी बुढाथोकी, ४२ वर्षीया प्रमिला गिरी, १५ वर्षीया बिमला गिरी र ३३ वर्षीय रुपराल गिरी रहेका छन्। उनीहरू सबैको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ।
प्रहरीका अनुसार जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनापछि चालक प्रहरी सम्पर्कमा छैनन्।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी डा. हेमबहादुर के.सी.को कमाण्डमा ट्राफिकसहित ११ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।