वलिदान दिवस तथा सहिदका परिवारलाई सम्मान

१४ फागुन २०८१/ सल्यान

सल्यानको बागचौरमा सरकार, प्रतिपक्ष र सडक आन्दोलनमा रहेका चार राजनीतिक दलहरूले संयुक्त रूपमा सहिदहरूको सम्मान गरेका छन्। बागचौरस्थित सहिद गेटमा रहेका तीन सहिदहरूको सालिकमा माल्यार्पण गर्दै उनीहरूले बलिदान दिवसको अवसरमा संयुक्त कार्यक्रम सम्पन्न गरेका हुन्।

सहिद हेमराज केसी, खिम बहादुर डिसी, र धन बहादुर थापाको सालिकमा माल्यार्पणपछि आयोजित संयुक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता टेक बहादुर बस्नेत, नेकपा एमालेका नेता घनश्याम शर्मा, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम शर्मा, र नेकपाका नेता मोहलाल चन्द सहित विभिन्न नेताहरूले सहिदहरूको सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

संयुक्त कार्यक्रमपछि नेकपा माओवादी केन्द्र बागचौरले पालिकाभित्रका ४९ जना सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ। सहिद परिवारलाई सहिदको फोटोसहित सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले बलिदान दिवसको ऐतिहासिक महत्त्वबारे मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज टेक बहादुर बस्नेत, जिल्ला इन्चार्ज कृती बहादुर पुन र टिका बुढाथोकी, जिल्ला अध्यक्ष मान बहादुर मल्ल, तथा प्रदेश सदस्यहरू सुम्नीमा डिसी, कल्पना पुन, र हरिलाल डिसी ले सम्बोधन गर्नु भएको हो ।

त्यस्तै, विप्लव नेतृत्वको नेकपाका नेता मोहलाल चन्द र अनिल सीले पनि आफ्नो धारणा राख्नु भएको थियो । नगर इन्चार्ज तिलक मल्लको अध्यक्षता मा सम्पन्न कार्यक्रममा शोभाराम भण्डारीले सञ्चालन गर्नु भएको हो ।

त्यस्तै, कुमाखमा पनि बलिदान दिवस तथा सहिद सप्ताह कार्यक्रमको पहिलो दिन सहिद तथा बेपत्ता परिवार भेटघाट, सम्मान तथा अभिनन्दन कार्यक्रम गरिएको पार्टीकी केन्द्रीय सदस्य दिलमाया बुढामगर गिरीले जानकारी दिनु भएको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष मान बहादुर मल्लका अनुसार फागुन २१ गतेसम्म सहिद सप्ताह मनाइनेछ, जसअनुसार पालिका स्तरमा जिल्लाभर विभिन्न कार्यक्रमहरू गरिने छन्।

२०५२ साल फागुन १ गते माओवादी जनयुद्ध सुरू भएको थियो। त्यसको १४ दिनपछि तत्कालीन राज्यपक्षबाट गोरखाका दिल बहादुर रम्तेल को हत्या भएपछि माओवादीहरूले सोही दिनलाई बलिदान दिवसको रूपमा मनाउँदै आएका छन्।

सल्यानमा बलिदान दिवस मनाउने क्रममा २०५४ साल फागुन १४ गते बागचौरमा प्रहरीद्वारा गोली हानी हत्या गरिएका हेमराज केसी, खिम बहादुर डिसी, र धन बहादुर थापा को स्मरण गर्दै प्रत्येक वर्ष बलिदान दिवस मनाइन्छ।

त्यो बेला संगै दिवस मनाइरहेका युवा नेता रमेश मल्लका अनुसार, धनबहादुर थापाले प्रहरीबाट झन्डा खोस्न नदिँदा उनलाई तानेर गोली हानिएको थियो। घटनाको विरोध गर्दा हेमराज केसीलाई कुटपिटपछि गोली हानियो भने खिम बहादुर डिसीलाई नियन्त्रणमा लिएर घर पछाडि गोली हानिएको थियो।

सल्यानमा जनयुद्धका क्रममा २ सय ४४ जनाले ज्यान गुमाएका छन्, भने दुई दर्जनभन्दा बढी अझै बेपत्ता छन्। २०५२ साल फागुन १ गते सुरू भएको जनयुद्ध २०६२र६३ सालको जनआन्दोलनपछि औपचारिक रूपमा अन्त्य भएको थियो।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य गर्नुपर्ने, र जनवादी व्यवस्था स्थापना गर्नुपर्ने उद्देश्यसहित माओवादीले रोल्पा, सिन्धुली, र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गर्दै जनयुद्धको सुरूवात गरेको थियो।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि शसस्त्र विद्रोह औपचारिक रूपमा समाप्त भएको थियो। जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट गरी करिब १७,००० नेपालीले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस