१८ मङ्सिर २०८१/ सल्यान
सल्यानमा विभिन्न कार्यक्रमका साथ ३३ औं अन्तरास्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।
अपांगता अधिकार, समानता र हौसलाको नाराहरुसहित र्याली, अभिमुखीकरण, सम्मान एवम् प्रतिभाहरु प्रस्तुत गर्ने लगाएतका कार्यक्रमहरु सञ्चालन गरेर उक्त दिवस मनाइएको हो ।
समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने नाराको साथ सल्यानको छत्रेश्वरीमा दिवस मनाइएको थियो ।
छत्रेश्वरी गाउँपालिका ६ भोटेचौरमा पञ्चेबाजा सहित र्याली
निकालिएको थियो भने उक्त र्याली गाउँपालिकाको सभाहलमा गएर औपचारीक कार्यक्रममा परिणत भएको थियो । छत्रेश्वरी गाउँपालिका तथा गाउँपालिका अन्तर्गत सिएमसी नेपाल, सुस्वा कार्यक्रम, सामाजिक विकास कार्यलय सल्यानको सहयोग, समन्वयमा पाथीभरे अपांग सेवा संघ सल्यानले दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले अपांगता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न गाउँपालिकाले विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गर्नु भयो । गत वर्ष पनि अपांगता भएका व्यक्तिहरुको मर्यादा तथा अधिकारका लागि कार्यक्रम गरिएको स्मरण गर्दै उहाँले गाउँपालिकाले अपांगतामैत्री संरचनालाई विशेष जोड दिएको बताउनु भयो । अपांगता भएका बालवालीकाको शिक्षाका लागि श्रोत कक्षाको थप व्यवस्थापन लगाएत विभिन्न साझेदार संस्थाहरुसंग समन्वय गरेर गाउापालिकाले काम गरिरहेको अध्यक्ष बुढाथोकीको भनाई छ ।
कार्यक्रममा रेस नेपाल सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले अपांगता अधिकारका लागि सरोकारवालाको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि अपांगता अधिकारलाई सबैले ध्यान दिन आवश्यक रहेको जनाउनु भयो ।
पाथीभरे अपांग सेवा संघका अध्यक्ष बम बहादुर केसीले विगतमा अपांगता भएका व्यक्तिहरुलाई दया वा विचराको रुपमा मात्रै हेर्ने गरिएको उल्लेख गर्दै विस्तारै अपांगता भएका व्यक्तिहरुले पनि अवसर पाएमा सक्षम नागरिक भएर आफ्नो जीवन निर्वाह गर्न सक्छन् भन्ने कुराको चेतना बढ्दै गएको उल्लेख गर्नु भयो । यद्यपी अझै पनि अपांगता भएकाहरुलाई दयाको पात्रको रुपमा हेर्ने विषय अवशेषको रुपमा रहेको बताउनु भयो ।
कार्यक्रममा सिएमसी नेपाल छत्रेश्वरी गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता गीता पहाडीले मानसिक, भावनात्मक, र सामाजिक समस्याको समाधानका लागि अपांगता भएका व्यक्तिहरूलाई प्रेरणा र सशक्तिकरणमा योगदान पु¥याउने प्रस्तुतिकरण गर्नु भएको थियो ।
गाउँपालिकाका वास संयोजक निमराज केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघ सल्यानका अध्यक्ष श्री दिपेन्द्र शाही, गाउँपालिका अन्तर्गत विभिन्न शाखाका प्रमुख, अन्य कर्मचारी, प्रहरी प्रतिनिधी, पत्रकार लगाएतको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा अपांगता क्षेत्रमा विभिन्न सहयोग गर्ने व्यक्तिहरुलाई दोसल्ला र प्रसंशापत्रले सम्मान गरिएको थियो भने अपांगता भएका व्यक्तिहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण खडग शाहीले गर्नु भएको हो ।