१० जेठ २०८१/ सल्यान
सल्यानमा सुरक्षीत वैदेशिक रोजगारीका लागी पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार सल्यान खलंगामा सम्पन्न भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिकाकी उप प्रमुख सुस्मिता सापकोटाले सामी कार्यक्रमको समाजमा सकारात्मक प्रभाव परेकाले देशका सम्पुर्ण स्थानीयहरुमा उक्त कार्यक्रम लागू गर्नु पर्ने बताउनु भएको छ ।कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी सापकोटाले,स्थानीय सरकारसंगै समाजका सबै अगुवा र सरोकारवालाहरुको वैदेशिक रोजगारीलाई मर्यादित बनाउन महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।
कार्यक्रममा बैदेशिक रोजगार बोर्ड, सामी कार्यक्रमका कर्णाली प्रदेश अधिकृत विष्णु अर्यालले सहभागीहरुलाई कार्यक्रमको महत्त्व,अवस्था बारे जानकारी दिनु भयो ।उहाँले वैदेशिक रोजगारीको क्रममा मृत्यू भएमा वा अङ्ग भङ्ग भएमा आर्थिक सहायता दिने निकायहरु रहेको भन्दै यस बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । अर्यालले सल्यानका ४ स्थानीय तहसंगको साझेदारीमा सामी कार्यक्रमले काम गरिरहेको भन्दै सल्यान स्थित आप्रवासी श्रोत केन्द्रबाट १६ हजारलाई परामर्श सेवा प्रदान गरिएको र आर्थिक वर्ष २०७७।०७८ देखि २०८०।०८१ सम्म १६ हजार जनालाई सामुहिक तथा व्यक्तिगत सूचना तथा परामर्श सेवा दिइएको बताउनु भयो । उहाँले उक्त अवधिमा श्रोत केन्द्रमा जम्मा १८० वटा समस्या दर्ता भएकोमा १०८ वटा समस्या समाधान भएको, ५० वटा प्रक्रियामा रहेको र २२ वठा समस्या समाधान हुन नसकेको विवरण प्रस्तुत गर्नु भयो ।
वैदेशिक रोजगार सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारबीच द्विपक्षीय सम्झौता अनुसार स्थानीय सरकारको नेतृत्वलमा सामी कार्यक्रम कार्यान्वयनमा छ । जिल्लाको शारदा, बनगाड र बागचौर नगरपालिका तथा छत्रेश्वरी गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा छ । सामी कार्यक्रम वैदेशिक रोजगारीमा जान सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार, वैदेशिक रोजगारमा रहेका कामदार परिवारहरुमा सूचनाको पहुँच, न्यायमा पहुँच (कानूनी सहजीकरण), सीपविकास तालिम, मनोसामाविक परामर्श, वित्तीय सारक्षता कार्यक्रम गर्ने गरेको कार्यक्रमका जिल्ला संयोजक विमल गौतमले जानकारी दिनु भयो । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी सहित जिल्लामा क्रियाशिल पत्रकार, सामी कार्यक्रम शारदा नगरपालिकाका फोकल पर्सन चन्द्र शर्मा, मनोसामाजिक परामर्शकर्ता सुधा आचार्य बृत्तिय साक्षरता सहजकर्ता शारदा डिसी लगाएतको सहभागिता थियो ।