जरिवाना खारेजीको माग सहित नगरपालिका संघका नवनिर्वाचित पदाधिकारीहरुले भेटे प्रधानमन्त्रीलाई

८ पुष २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा उम्मेदवारले समयमा नै खर्च विवरण नबुझाउँदा लाग्ने जरीवाना सम्बन्धी कानुन संसोधन गर्ने बताउनु भएको छ ।
नेपाल नगरपालिका संघको नवनिर्वाचित पदाधीकारी सँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताउनु भयो ।
बिहिबार प्रधानमन्त्रीलाई भेट्न संघका नवनिर्वाचित अध्यक्ष भीमप्रसाद ढुंगाना सहितको टोली प्रधानमन्त्री निवास बालुवाटार गएको थियो । सो क्रममा अध्यक्ष ढुंगानाले जरीवाना सम्बन्धी कानुन जानकारीको अभावमा धेरै जनप्रतिनिधिमा उम्मेदवार बनेकाहरु पीडित बनेको भन्दै कानुनमा संसोधन आवश्यक रहेको बताउनु भयो ।
‘संविधानले रक्षा गरेको समावेशी र समानुपातिक प्रणालीका कारण हामीले निकै गरिब र अशिक्षीत व्यक्तिहरुलाई राजनीतिको मुलधारमा ल्याउन वडा देखी नै उम्मेदवार बनाएका छौं, उनिहरुमा कानुनको ज्ञानको अभावमा खर्च विवरण बुझाउने बारे जानकारी भएन ।’ उहाँले भन्नुभयो ‘अहिले त्यस्ता व्यक्तिहरुलाई विवरण नबुझाएकै आधारमा एक देखी सात लाख सम्म जरिवाना गरिएको छ, यो तत्काल खारेज गर्नुपर्छ ।’ अध्यक्ष ढुंगानाले राखेको विषयमा जवाफ दिंदै प्रधानमन्त्री देउवाले यसको समाधान खोज्न आफु प्रतिबद्ध रहेको कुरा बताउनु भयो ।
स्थानीय तह निर्वाचनमामा उम्मेदवार बनेकाहरुले समयमै खर्च विवरण बुझाउन नसक्दा लागेको जरिवाना खारेजीको माग सहित नेपाल नगरपालिका संघका नव निर्वाचित पदाधिकारीहरु प्रधानमन्त्रीलाई भेट्न गएको केन्द्रिय सदस्य तथा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले दियो अनलाइनलाई जानकारी दिनुभयो ।संघको बुधबार सम्पन्न निर्वाचनले नीलकण्ठ नगरपालिका धादिङका प्रमुख ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस