राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न बागचौरमा पत्रकारसँग अन्तरक्रिया

१३ कार्तिक २०७८

राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न सल्यानको बागचौरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला जनगणना कार्यालय सल्यानको आयोजना तथा स्थानीय जनगणना कार्यालय बागचौरको समन्वय र बागचौर नगरपालिकाको व्यवस्थापनमा शुक्रवार भएको कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउन मिडिया, सरोकारवाला निकाय र आम जनसमुदाय सकारात्मक भएर लाग्नु पर्ने बताएका हुन ।बुढाथोकीले जिल्लाका अन्य पालिकाका जनप्रतिनिधिहरुसंग पनि आफुले सहकार्य गरेर काम गर्दै आइरहेको बताएका छन् । उनले बागचौर नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउन नगरपालिकाका १२ वटै वडाका जनप्रतिनिधिहरुलाई कार्यपालिकाको बैठक राखेर निर्देशन दिने बताएका छन्।
जिल्ला लगाएत बागचौरमा पनि राष्ट्रिय जनगणना मेरो सहभागिता भन्ने मूल नाराका साथ १२ औं राष्ट्रिय जनगणनाको स्थलगत तथ्यांक संकलन कार्य सम्पन्न भएको र । पहिलो चरणमा घर तथा घरपरिवार सूचिकरण फारम मार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घर, परिवार, पुरुष, महिला र अन्य लिङगी संख्या, परिवारको कृषि सम्बन्धी आदि विवरण संकलन गरी सकिएको रअब दोस्रो चरणमा यही कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म गणकहरु प्रत्येक घर परिवारमा पुगी मुख्य प्रश्नावली मार्फत घर, परिवार र ब्यक्ति सम्बन्धी विस्तृत विवरण संकलन कार्य गर्ने स्थानीय जनगणना कार्यालय बागचौरले जनाएको छ । स्थानिय जनगणना अधिकारी टेक बहादुर डिसीले १२ औं राष्ट्रिय जनगणना देशको संघिय संरचनाको पहिलो जनगणना भएकाले पनि वडा, पालिका, प्रदेश र संघीय स्तरमा स्थलगत सूक्ष्म तथ्यांकहरु संकलन हुने हुदा आगामी दश बर्षको लागि देशको समग्र विकास योजना बनाउन महत्वपूर्ण आधार भएकोले यसको ठुलो महत्व रहेको बताएका छन् । उक्त कार्यक्रममा बागचौर नगरपालिकाकी नगरउपप्रमुख कल्पना पुन,निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर हमाल, लगाएत विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो । बागचौर स्थानिय जनगणना कार्यालय अन्तर्गत रहेका दार्मा गाउँपालिकामा ५ जना सुपरिवेक्षक तथा २१ जना गणक, सिद्धकुमाख गाउँपालिका अन्तर्गत ४ जना सुपरिवेक्षक तथा १५ जना गणकहरु र बागचौर नगरपालिकामा ९ जना सुपरिवेक्षक र ३५ जना गणकहरु खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस