स्थानीय तहको अगुवाइमा पूर्ण खोप अवस्थाको निरन्तरताको लागि दुई दिने गोष्ठी सम्पन्न

सल्यान, ३१ चैत्र ।

सल्यानको कपुरकोट गाउँपालिकामा पूर्ण खोप अवस्थाको निरन्तरताको लागि दुई दिने गोष्ठी सम्पन्न भएको छ । पालिका स्तरिय खोप कार्यक्रमको समिक्षा तथा शुक्ष्म योजना तर्जुमा सम्बन्धी दुई दिने गोष्ठी मंगलबार सम्पन्न भएको हो । गोष्ठीको समापन गर्दै गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले पूर्ण खोप पाउनु प्रत्येक बालवालिकाको नैसर्गीक अधिकार भएको उल्लेख गर्दै खोपबाट विभिन्न रोग र महामारीबाट बच्न सकिने बताए ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले आफ्नो पालिका पूर्ण खोप घोषणा भइसकेको भए पनि यसको दिगोपना कायम गरी निरन्तर पूर्ण खोप प्राप्त गरेको सुनिश्चीतता गर्नु अझ अपरिहार्य रहेको बताए । उनले स्वास्थ्य शाखाले सक्रियतापूर्वक काम गरिरहेको भन्दै प्रशंशा पनि गरे ।

गोष्ठीको समापन अवसरमा प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले नियमित खोप सेवालाई सुदृढिकरण गर्न गाउँपालिकाले प्रभावकारी कार्यहरु गरिरहेको बताए । यस्तै वडा नं ५ का वडा अध्यक्ष यम कुमार वस्नेतले स्थानीय तहको अगुवाइमा नै पूर्ण खोप अवस्थाको निरन्तरता सम्भव रहेको बताए ।

गोष्ठीमा स्वास्थय शाखा प्रमुख अरुण दाहालले गाउँपालिकामा हाल खोपको अवस्था, सुधार गर्नुपर्ने पक्ष र चुनौतीहरुको बारे प्रस्तुती गरेका थिए । उनले आफुहरुले नियमित खोपको प्रगति समिक्षा, विश्लेषण र पूर्ण खोपका लागि सुक्ष्म योजना बनाउदै अघि बढिरहेको बताए । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सिनियर अहेव सुवाश हमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस