काठमाडौं, असोज २६ ।
२०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अफताव आलम पक्राउ परेका छन् । उनी पूर्व श्रममन्त्री समेत हुन् । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।
प्रहरीका अनुसार ०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका आठ जनालाई इँटा भट्टीमा जलाएर मारेको आरोप आलममाथि छ । मारिएकामध्ये दुईजनाका परिवारले आलमविरुद्ध जाहेरी दिएका थिए । आलम रौतहट–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सोही आरोपमा यसअघि पक्राउ परेका दुईजनाको बयानको आधारमा उनलाई पक्राउ गरिएको प्रदेश दुईका डीआईजी प्रद्युम्न कार्कीले जानकारी दिए । आलम घर नजिकै इद्रिस चोकमा रहेको कार्यक्रममा सहभागी हुनका लागि घरबाट निस्कने क्रममा पक्राउ परेका हुन् ।
एसपी भुपेन्द्र खत्रीको नेतृत्वमा गएको टोलीले उनलाई पक्राउ गरेको थियो ।