ढाकामा चम्किएका किरणलाई उपाधिको तिर्खा

ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीमध्ये एक हुन् गोलकिपर किरण चेम्जोङ । नेपाललाई सेमिफाइनलमा पुर्‍याउन उनको भूमिका अहम् देखिएको छ ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले समूह चरणमा खेलेको तीनै खेलमा उनले केही उत्कृष्ट बचाउ गरे । पछिल्ला दुई खेलमा उनले कुनै गोल खाएका छैनन् । दोस्रो खेलमा भुटानविरुद्ध विराज महर्जनलाई बेन्चमा राखिँदा किरणले पहिलोपटक नेपालको कप्तानीसमेत सम्हाल्ने मौका पाए

नेपालले ४-० को जित निकालेको उक्त खेलपछि किरणले भने ‘राष्ट्रिय टिमको नेतृत्व गर्दै जित हात पार्दा एकदमै खुशी लाग्यो । त्यसो त, पाकिस्तानसँग पराजित भएपछि नेपालले धेरै कुरा सुधार गरेको र उपाधि रक्षा गर्न अझै धेरै गर्नुपर्ने किरणको तर्क छ ।

गोलकिपर किरणको पनि ठूलो सपना छ, साफ च्याम्पियनसिप फुटबलको उपाधि उचाल्ने । नेपाल उपाधिबाट केबल दुई कदम मात्र पछि छ । तर, यी दुई म्याच फलामका च्यूराभन्दा कम छैनन् ।

‘ब्याड लक नै भन्नुपर्छ पाकिस्तानसँग हाम्रो सानो गल्तीको कारण हार्न पुग्यौ । दोस्रो र तेस्रो खेलमा लगातार जित हात पार्दै यहाँसम्म आइपुगेका छौं । हामीले सुधार गर्नुपर्ने पक्ष धेरै छ ।’

उपाधिको सपना

लामो समयदेखि नेपालका फर्स्ट च्वाइस गोलकिपरका रुपमा रहेका छन् किरण । अन्तर्राष्ट्रिय खेलमा लगातार तीन वटा पेनाल्टी रोक्ने पहिलो नेपाली गोलकिपरको रेकर्ड उनको नाममा छ ।

युवा टिमले भरिएको नेपाली फुटबल टिममा किरण अनुभवी खेलाडी हुन् । विकेश कुथु र एलन न्यौपानेलाई कुनै अवसर नदिई टिममा निरन्तर परिरहेका २८ वर्षीय किरणको प्रदर्शन निरन्तर निखारिदो छ ।

नेपाली फुटबल विशेष गरी दक्षिण एसियामै केन्द्रित छ । नेपालको लागि साफ च्याम्पियनसिप फुटबल विश्वकपभन्दा कम छैन । अहिलेसम्म एकपटक पनि फाइनल यात्रा पार गर्न नसकेको नेपाल यो पटक भने इतिहास रच्ने दाउमा छ ।

गोलकिपर किरणको पनि ठूलो सपना छ, साफ च्याम्पियनसिप फुटबलको उपाधि उचाल्ने । नेपाल उपाधिबाट केबल दुई कदम मात्र पछि छ । तर, यी दुई म्याच फलामका च्यूराभन्दा कम छैनन् ।

किरण भन्छन् ‘यो पटक हाम्रो टिमको लय एकदमै राम्रो छ । राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौं ।’

प्रतिक्रिया दिनुहोस