भाद्र २६, रोल्पा । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले ‘रोल्पा समाचार साप्ताहिक’ का होलेरी सम्वादाता रविन्द्र पुनमगरलाई होटेलको कोठामा थुनेर ज्यान मार्ने धम्की दिएका छन् । अध्यक्ष बुढामगरले भदौ २५ गते राति गाडीमा राखेर होटेलमा लगेर पत्रकार पुनमगरलाई ज्यान मार्ने धम्की दिएका हु्न् ।
गाउँपालिकाका अध्यक्ष बुढामगरले गाउँपालिकाको सार्वजनिक सुनुवाईको विषयमा टिप्पणी गर्ने अधिकार कसैलाई नभएको भन्दै पुनमगरलाई ज्यान मार्ने धम्की दिएका हुन् । पत्रकार पुनमगरलाई ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ रोल्पा शाखाले आपत्ति जनाएको छ ।
पत्रकार पुनमगरले सामाजिक सञ्जाल फेसबुकमा ‘‘तपाईंलाई विश्वास नलाग्न सक्छ, रुन्टीगढी गाउँपालिका रोल्पाको सार्वजनिक सुनुवाई कार्यक्रम यहाँस्थित एक होटलमा सकिएको छ त्यो पनि १०–१५ जनाको सहभागितामा । बरु कुनै महानुभावले त्यो कार्यक्रममा २० जना जति उपस्थित भएको भए फोटोहरु छन् भने यता पोष्ट गरिदिनुहोला है । आमनागरिकलाई निष्पक्षता, पारदर्शिता, सहभागिता अनि समावेशिताको अधिकार सुनिश्चित गरि रुन्टीगढी गाउँपालिका देशकै एक नमूना गाउँपालिका बन्दैछ । अनि त्यो सार्वजनिक सुनुवाई कार्यक्रममा हामी उपस्थित हुने अधिकार छ कि छैन । सम्बन्धित पक्षबाट जानकारी दिनुहोला’’ लेखेका थिए ।
पत्रकार महासंघका अध्यक्ष मानसिंह विश्वकर्माद्वारा जारी विज्ञप्तीमा पत्रकार पुनमगरलाई जलजला होटेलमा लगेर कोठा बन्द गरी मानसिक याताना, ज्यान मार्ने धम्की दिने काम गर्नुले नागरिक जनप्रतिनिधिबाटै असुरक्षित भएका र आम–जनतालाई निर्वाध हिडडुल गर्न पाउने, बोल्न पाउने अधिकार कुण्ठित भएको उल्लेख छ ।
तत्कालिन नेकपा एमालेका तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित बुढामगरले पत्रकार पुनमगरलाई कार्यालय समयभित्र बोलाएर छलफल गर्ने अथवा कानुनी बाटो रोज्ने विकल्प हुँदा हुँदै होटलको बन्द कोठामा लगेर झन्डै २ घन्टा मानसिक याताना दिनुले कानुनी राज्यको पालना गराउने निकाय आफँैले पदको दुरुपयोग गरेको पत्रकार महासंघको ठहर छ ।
महासंघले जारी गरेको विज्ञप्तीमा पत्रकार पुनमगरले २५ गते राति नै असुरक्षित भएको खबर गरेपछि तत्काल इलाका प्रहरी कार्यालयको सक्रियतामा उद्धार गरिएको उल्लेख छ ।
‘‘जनताको मतबाट निर्वाचित अध्यक्षले मदिरा सेवन गरी यसरी धम्काउनुभन्दा अन्य कानुनी बाटो रोज्नका लागि गाउँपालिका अध्यक्ष बालाराम बुढामगर र अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौँ,’’ विज्ञप्तीमा भनिएको छ, ‘‘पत्रकार रविन्द्र पुनमगरको जीवन सुरक्षा र पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघ रोल्पा अन्तिमसम्म लडिरहने समेत प्रतिवद्धता व्यक्त गर्दछ ।’’
महासंघले घटनालाई संवेदनशिल ढंगबाट छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ ।