२४ असोज २०८२/ सल्यान
सल्यानमा पछिल्ला तीन महिनाभित्र जिल्लाभर भएका विपद् सम्बन्धी गतिविधिहरूको समीक्षा गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको पहिलो त्रैमासिक बैठकले यस वर्षको मनसुनले ठूलो जनधनको क्षति नपुर्याएको निष्कर्ष निकालेको हो।
बैठकमा स्थानीय तहहरूमा विपद् पूर्वतयारीका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने सुझावहरू प्रस्तुत गरिएका थिए। साथै, विभिन्न पालिकाबाट प्राप्त सिफारिस तथा प्रहरी मुचुल्काका आधारमा विपद् प्रभावितहरूलाई वितरण गरिएका राहत तथा सहयोगका विवरणको अनुमोदन पनि गरिएको छ।
यससँगै, आगलागी नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणका लागि जनसचेतना कार्यक्रम सञ्चालन गर्ने, पूर्वाधार विकास र विद्युतीकरणका कामलाई तदारुकताका साथ अघि बढाउने निर्णय बैठकले गरेको छ।
जिल्ला समन्वय समितिका उपप्रमुख असबिर बुढाथोकीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षासंस्थाका प्रमुखहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बैठकको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले गर्नुभएको थियो।