प्रकृति र संस्कृतिमा रमाउन ‘सल्यान’ घुम्न जाऊँ, भिजिट नेपाल २०२० सफल पारौं

काठमाडौंदेखि पश्चिम करिब ३२० किलोमिटरको दूरीमा अवस्थित सल्यान कर्णाली प्रदेशको एक पहाडी जिल्ला हो ।

भौगोलिक विविधता, प्राकृतिक स्रोत, साधन र सम्पदा, कला-संस्कृति, रीतिरिवाज, परम्परा र पुरातात्विक महत्व र सम्भावना बोकेको यो जिल्ला प्रशस्त सम्भावना बोकेर पनि अनेक कारणले गर्दा विकास र संबृद्धिको ढोका वर्षौदेखि ढक्ढकाइ रहन बाध्य छ ।

भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासले गर्दा यहाँका अधिकांश मानिसहरुको जीवन कष्टकर रहेको छ । परम्परागत कृषि पेशामा आधारीत यहाँको आर्थिक प्रणाली सुधार उन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि विस्तारै परिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्री, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता रहेको छ ।

सल्यानको प्रमुख पर्यटकीय गन्तव्य :
कुपिण्डे ताल

-नेपाल सरकारले भर्खरै सार्वजनिक गरेको “नेपालका १०० पर्यटकीय गन्तव्य”को सुचीमा पर्न सफल ।

-कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको बनगाड-कुपिण्डे नगरपालिकामा अवस्थित ।

-जिल्ला सदरमुकाम खलंगादेखि १४ किलोमिटर पश्चिम तथा दाङ तुल्सीपुरदेखि करिब ५-६ घण्टाको दुरीमा रहेको ।

-चारैतिर मिलेका स-साना पहाडका थुम्का, हरियो रंगमा सजिएका सुन्दर वनजंगल अनि बिचमा निलो आकाश झैं तैरिरहेको लोभलाग्दो कुपिण्डे ताल ।

-तालको रंग हरेक वर्षको वर्षा, हिउँद र गर्मी याममा गरी ३ पल्ट बदलिने गरेको ।

खैराबाङ मन्दिर

-परापुर्वकालमा एक महिलाले घाँस काट्न जाँदा जंगलमा नौमती बाजा बजेको सुनेपछि सबै गाउँलेलाई बोलाइन् । बाँझको रुखमुनिको फेदैमा खड्ग निसानाको खुडा तलमाथि गर्दा आवाज आइरहेको देखेर उनीहरू सब आश्चर्यचकित भए । त्यही रात गाँउको एक पण्डितको सपनामा समेत देवी प्रकट भएसँगै त्यहाँ मन्दिर बनाई पुजाआजाको सुरुवात भएको किंवदन्ती ।

-कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको शारदा नगरपालिकामा अवस्थित ।

-दाङ तुल्सिपुरदेखि करिब ३ घण्टा तथा सल्यान जिल्लाको व्यापारिक केन्द्र श्रीनगरबाट झण्डै आधा घण्टाको दुरीमा रहेको ।

-ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनका दृष्टिले निकै महत्वपूर्ण स्थल ।

छायाँक्षेत्र मन्दिर

-सल्यान सदरमुकाम खलंगादेखि दक्षिणतर्फ करिव १५ कि.मि. टाढा १३०० मिटर उचाईको थुम्कोमा अवस्थित ।

-शिखर शैलीमा बनेको यो मन्दिर वि.सं. १९९० को दशकमा शिव पार्वतीको मन्दिरको रुपमा स्थापित एवम् वि.सं. २०३७ सालमा नागाबाबाद्वारा जीर्णोद्दार गरिएको ।

-श्री स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतीदेवीको अन्तिम अंग यही छायाँक्षेत्रमा पतन भएर छत्रेश्वरी देवी, सुकमोला योगिनी, पिशाचेश्वर महादेव प्रकट हुन भएको कथा पाइने ।

-नेपालका सबै शक्ति पीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ ।

-धार्मिक पर्यटनका लागि एक सुन्दर गन्तव्य स्थल ।

कुमाख लेक


-सल्यान जिल्लाको गौरव, इतिहास र शानको सगरमाथा बनेर उभिएको कुमाख लेक यहाँको प्रमुख धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक पर्यटकीय स्थलको रुपमा सुपरिचित छ ।

-सल्यान सदरमुकाम खलंगादेखि करिब ८ घण्टाको पैदल यात्राको दुरीमा रहेको यो लेक जिल्लाकै दोश्रो अग्लो पहाड पनि हो । यसको उचाई २५३७ मिटर रहेको छ ।

-यस पहाडको शिरमा उभिएर समग्र सल्यान जिल्लाका साथै छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजरकोट, बाँकेका समेत सुन्दर मनोरम प्राकृतिक दृश्यहरूको रसावलोकन गर्न सकिन्छ ।

-कुमाख लेक आफैमा एक प्राकृतिक भ्यु-टावर हो ।

-साविकका जिमाली, मर्मपरिकाँडा र सिद्धेश्वरी गा.वि.स.हरूलाई काखमा लिएर गजधम्म ठडिएको यस पहाडको टुप्पामा सिद्ध बाबाको मन्दिर रहेको छ । पुजारी तथा स्थानीय बुढापाकाका अनुसार सिद्ध देवता मन्दिरको बन्द कोठाभित्र बस्दैनन् भन्ने धार्मिक एवम् पौराणिक मान्यता अनुरुप यहाँको सिद्ध मन्दिरमा छानो राखिएको छैन । हिन्दु धर्मावलम्बीहरूमाझ यस पवित्र स्थल निकै प्रसिद्ध रहेको छ ।

-यस मन्दिरमा प्रत्येक वर्षको विजयादशमी देखि कोजाग्रत पूर्णिमासम्म सिद्ध देवताको भव्य रुपमा पूजाआजा हुने गर्दछ । यहाँ पहिलोपटक जानेले सात पटक मन्दिरको परिक्रमा गरेर बर माग्ने र सो पुरा भएपछि भेडो बली चढाउने चलन रहेको पाइन्छ ।

-चतुर्दशी र कोजाग्रत पूर्णिमाका दिन मन्दिरदेखि करिब १ कि.मि. तल जिमालीतर्फको समथर भू-भागमा सल्यान जिल्लाकै ठूलो मेला लाग्ने गरेको छ ।

शब्द: राजन के.सी.प्रमोद

प्रतिक्रिया दिनुहोस