सल्यानमा रक्त समुह पहिचान र हेमोग्लोविन जाँच

२७ फागुन २०८१/ सल्यान

सल्यानमा ३सय ३७ जना किशोर किशोरीको रक्त समुह पहिचान र हेमोग्लोविन जाँच गरिएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडानं.३ का बिधालयमा अध्यनरत किशोर किशोरीको रक्त समुह र हेमोग्लोविन जाँच गरिएको हो ।

आफ्नो वडा भित्रका किशोर किशोरीहरुको स्वास्थ्य अवस्थालाइ मध्यनजर गर्दै यसप्रकारको जांच गरेको छत्रेश्वरी गाउँपालिका वडा नं ३ ले जनाएको छ । १० देखि १९ बर्ष उमेर समुहका २२२ जना किशोरी र ११५ जना किशोरको रक्त समूह र ह्मोग्लोबिन जांच गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र दोहलीका प्रमुख ऐन प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । परीक्षणका क्रममा सबैको हेमोग्लोबिन स्तर ११ भन्दा माथि रहेको पाइएको उहाँले बताउनुभयो । विशेष गरी किशोरीहरूले नियमित रूपमा आइरन सेवन गरिरहेका कारण उनीहरूको हेमोग्लोबिन स्तर सुरक्षित देखिएको स्वास्थ्य संस्थाले जनाएको छ ।

रक्त समूह पहिचान गर्दा आकस्मिक अवस्थामा रगतको आवश्यकता परेमा छिटो र प्रभावकारी रूपमा रगतको व्यवस्था गर्न सजिलो हुने तथा हेमोग्लोबिन जांचले किशोर किशोरीहरुको पोषण स्तरको जानकारी दिने भएकाले यसप्रकारको जांचको कार्यक्रम राखिएको छत्रेस्वरी ३ का वडा अध्यक्ष तिर्थराज दाहालले जानकारी दिनुभयो । किशोरकिशोरीहरुमा स्वास्थ्य सम्बन्धी सचेतना बढाउन र उनीहरुलाई सही आहार तथा नियमित स्वास्थ्य जांचको महत्त्व बुझाउन यो कार्यक्रमले सहयोग पुर्याएको उहाँको बिश्वास छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका ल्याब असिस्टेन्ट छवि बुढाथोकी, छायाक्षेत्र स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट सुनिता खड्का लगायतको स्वास्थ्यकर्मीको टोली परिक्षणमा खटेको थियो । स्वास्थ्यकर्मीको टोलीले किशोर किशोरीलाई स्वस्थ जीवनशैली अपनाउन, पोषणयुक्त खाना खान र आइरनयुक्त आहार निरन्तर सेवन गर्न सुझाव पनि दिएको थियो । वडा कार्यालयले आगामी दिनमा पनि यस्ता स्वास्थ्य सम्बन्धि कार्यक्रमलाइ प्राथमिकता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस