पुर्व मन्त्री द्वारा स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

२५ फागुन २०८१/ सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिका २ दहखोलामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नव निर्मित भवन तथा प्रसुती केन्द्र ( बर्थिङ सेन्टर ) को उद्घाटन गरिएको छ ।

११५ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गरिएको भवन उद्घाटन कार्यक्रममा बोल्दै,कर्णाली प्रदेशका पुर्व भुमी, व्यवस्था तथा कृषि सहकारी मन्त्री भीम प्रकाश शर्माले सल्यानको बिकासको लागि आफ्नो कार्यकालमा जनताले स्मरण गर्न लाएक काम गर्ने बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले,प्रदेश सरकारले मातृ तथा शिशु सुरक्षा अभियानलाई प्राथमिकता दिई स्थानीय तहहरूसँग समन्वय गर्दै आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउन भवन निर्माणमा ध्यान दिएको बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनसँगै देश भर यस्ता विकास निर्माणका कार्यहरू अघि बढिरहेको उल्लेख गर्नु भयो ।

सल्यान ( क)प्रदेशसभा सदस्य शर्माले विगतमा महिलाहरू असुरक्षित रूपमा घरबाहिर, खेतबारी वा जङ्गलमा सुत्केरी हुने अवस्था रहेको स्मरण गर्दै, प्रदेश सरकारले स्थानीय सरकारहरूसँग सहकार्य गरी गाउँ-गाउँमा स्वास्थ्य सेवा विस्तार गर्ने पहल थालेको बताउनु भयो ।जिल्लाका अन्य स्थानीय तहको बिकास संग संगै छत्रेश्वरी गाउँपालिकामा पनि प्रदेश सरकारले विभिन्न महत्त्वपूर्ण योजनाहरुको बिकास गरेको बताउनु भयो ।आफुले लान्ती-लेखपोखरा-दहखोला-गुराँसे-झ्याम सडकलाई प्रदेश लोकमार्गको रूपमा विकास गर्न पहल समेत गरिएको बताउँदै, संघीय सडक कार्यालयमार्फत आवश्यक योजना र सर्वेक्षण पूरा भइसकेको र द्रुतगतिमा निर्माण कार्य थालिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।मन्त्री शर्माले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमामहिलाहरूको अधिकारलाई पुर्ण रुपले सवै पक्षबाट दिलाउनु पर्नेमा जोड दिनु भयो ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीको बिशिस्ट आतिथ्यतामा भएको उक्त कार्यक्रममा
गाउँपालिकाकी पुर्व उपाध्यक्ष सीता केसी, छत्रेश्वरी १ का वडा अध्यक्ष प्रकाश हमाल,वडानं.२ का पुर्व वडा अध्यक्ष प्रेम बहादुर खड्का, नेपालि कांग्रेसका प्रतिनिधि चेत बहादुर पुन, नेकपा एमालेका प्रतिनिधि टोपेन्द्र राणा, माओवादी केन्द्रका प्रतिनिधि बिष्णु बहादुर थापा, स्वास्थ्य शाखा छत्रेश्वरीका प्रमुख गणेशमान डांगी, अपांग महासंघ कर्णाली प्रदेशका बम बहादुर केसी, महिला समुहको तर्फबाट प्रतिनिधि चन्द्रा भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०८०/०८१ को रु.४० लाख अनुदानमा छत्रेश्वरी गाउँपालिका मार्फत स्वास्थ्य संस्था भवन तथा प्रसुती गृह एवम गेट लगायतका संरचना निर्माण गरिएको हो । भवनमा गर्भवती जांच तथा परिवार नियोजन कक्ष, पुर्व प्रसुती कक्ष, प्रसुती कक्ष, प्रसुती स्याहार कक्ष, स्टाफ कक्ष, निर्मलिकृत कक्ष लगायतका कक्ष रहेको वडानं.२ का वडा अध्यक्ष प्रेमबहादुर नेपालीले बताउनु भयो ।

यस्तै महिला दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा,खुला नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा आमा समूहका नृत्य प्रस्तुतिहरू लाई समेटिएको थियो । प्रतियोगितामा सहभागी २८ आमा समूहलाई र बिजेता टिमलाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको हो ।

छत्रेश्वरी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष प्रेम बहादुर नेपालीको अध्यक्षता,वडा सदस्य इन्द्रा वलीको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण आधारभुत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरी २ दहखोलाका कार्यालय प्रमुख चुडामणि बस्नेत र कार्यपालिका सदस्य बशन्ता जिसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस