शारदा नगरपालिकामा शिक्षा दिवसको अवसरमा वादविवाद प्रतियोगिता, शिवजन माविकी छात्रा प्रथम


२ असोज सल्यान
सल्यानको शारदा नगरपालिकाले शिक्षा दिवस २०८० को अवसरमा बादविवाद प्रतियोगिता आयोजना गरेको छ ।
आज त्रिभुवन जन मावि लुहापिङ खलंगामा दिवसका अवसरमा आयोजना गरिएको बादविवाद प्रतियोगितामा शिवजनमाविका छात्रा भूमिका खड्का प्रथम हुनुभएको छ ।
त्यस्तै ज्योति पु्ञ्ज एकेडेमीका छात्र दिपेश भण्डारी दोस्रो, मोर्डन तुल्सी एकेडेमीका छात्रा भावना बुढाथोकी तृतीय, एमएम एकेडेमीका छात्रा प्रमिसा के.सी र त्रिजमावि लुहापिङका छात्रा सृजना वली सान्त्वना हुनु भएको छ ।
सामाजिक संजाल बरदान की अभिशाप भन्ने विषयमा पक्ष तथा विपक्षमा रहेर संचालन गरिएको वादविवादमा नगर भित्रका सामुदायिक र संस्थागत गरेर १२ वटा विद्यालयका विद्यार्थीको सहभागीता रहेको थियो ।
त्रिजमावि लुहापिङका विव्यस अध्यक्ष सुशिल विक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी रहनुभएको थियो ।
नगर प्रमुख भण्डारीले कार्यक्रममा मन्तव्य राख्दै विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । शिक्षाको गुणस्तर सुधारमा आफु लागि परेको बताउदै पढाइलाई पहिलो प्राथमिकतामा राखेर अध्ययन क्रियाकलापमा सहभागी बन्न विद्यार्थीलाई आग्रह गर्नुभयो । विद्यार्थीलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अव्वल बनाउनको लागि शिक्षकको क्षमता अभिबृद्धि तालिम, पठाई मेला लगायतका विभिन्न कार्यक्रमहरु नगरपालिकाले संचालन गरिरहेको उहाँले बताउनु भयो ।
विशिष्ट अतिथिको रुपमा उपस्थित शारदा नगरपालिकाका उप प्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत सानुबाबु अधिकारीले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यालयलाई प्रमाणपत्र र विभिन्न स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
शारदा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका संगीता बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सामाजिक विकास कार्यालय सल्यानका सुचना अधिकारी हरि सापकोटा, शिवजन माविका शिक्षक  शेरजंग शाह, डिडिएस साक्षरता कार्यक्रमका प्रमुख टेकराज शाहीले मन्तव्य राख्नुभयो । कार्यक्रमको संचालन शारदा नगरपालिकाका राम बहादुर भण्डारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस