सल्यानको कपुरकोटमा उच्च स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ भदौ २०८०/ सल्यान

बेमौसमी तरकारी खेतिको उत्पादन,बजारीकरणका चुनौती र बिषादी प्रयोगशालाको संचालन बिषयक उच्च स्तरीय अन्तरक्रिया सल्यानको कपुरकोटमा सम्पन्न भएको छ ।

मंगलवार सल्यानको कपुरकोटमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले कपुरकोटका किसानलाई आधुनिक तरिकाले तरकारी उत्पादन गर्नका लागि मन्त्रालयले बजेटको ब्यवस्थापन गरेको र आगामी दिनमा पनि गर्ने बताउनु भयो ।उहाँले न्यूनतम समर्थन मूल्य तथा हाटबजार व्यवस्थापनमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको बताउँदै विषादी परीक्षण प्रयोगशाला निर्माणमा सरकारको सहयोग रहने जनाउनुभयो ।मन्त्री शर्माले अर्गानिक खेतिमा किसानले जोड दिनु पर्ने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले कपुरकोट गाउँपालिका भित्रका जनताको मुख्य आयस्रोतको रुपमा रहेको कृषि पेशालाई आधुनिक तरिकाले व्यवसायिकरण गर्न गाउँपालिका लागि परेको बताउँनु भयो ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका पुनले कपुरकोट गाउँपालिका भित्रको तरकारीलाई बजारीकरण गरि किसानलाई उचित मुल्य दिलाउने स्थानीय सरकारको दायित्व हुने र उक्त दायित्व पूरा गर्न आफुहरु लागिपरेको बताउनु भयो ।उक्त अन्तरक्रिया कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भरारीले कपुरकोट गाउँपालिका भित्रका किसानको अवस्था,कपुरकोट उपज बजारको पछिल्लो अवस्था र गाउँपालिकाले खेल्दै आएको भुमिका बारे बताउनु भएको थियो।

कपुरकोट कृषी उपजबजार संचालक समितीका अध्यक्ष तिलक शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ,भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव विष्णु भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णुप्रसाद कोइराला, कानून सचिव शंकरबहादुर केसी, कृषि सचिव डा.नरहरिप्रसाद घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.विनोदप्रसाद देवकोटालगायतले मन्तव्य राख्नुका साथै सहभागीता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा कृषि बिकास कार्यालय सल्यानका कार्यालय प्रमुख रेशम कुमार बस्नेत,पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख गोविन्द महत,कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत ओली लगाएत जनप्रतिनिधि,पत्रकार,किसान र स्थानीय बासीको सहभागीता रहेको थियो ।कार्यक्रममा समितिका सदस्य, तरकारी कृषकहरुले उत्पादित कृषि उपजलाई अर्गानिकतर्फ लैजान तथा ती वस्तुलाई रसायन तथा विषादीमुक्त बनाउन सरकारको ध्यानाकर्षण गरेको किसानहरुले बताउनु भएको थियो ।

मन्त्री शर्मा लगाएत विभिन्न मन्त्रालयका सचीव,सरोकारवाला निकाय का व्यक्तिले कपुरकोट उपज बजार केन्द्र लगाएत उक्त क्षेत्रका बिभिन स्थानमा मन्त्रालयअन्तरगत जिल्ला कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानबाट कृषि तथा पशुपन्छी विकास कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण सुझाव संकलन गर्नुका साथै अनुगमन तथा अवलोकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस