कोरोना विरुद्धको खोप मानिसमा गरियो परिक्षण

एजेन्सी । बेलायतमा कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो । बिहीबार सुरुमा २ जना स्वयंसेवकलाई इन्जेक्सन दिइएको छ । खोपको परीक्षण अध्ययनका लागि अन्य ८ सयभन्दा बढीलाई इन्जेक्सन दिइने तयारी गरिएको छ ।

खोप लिने दुईजनामध्ये एकजना एलिसा ग्रानाटोले बीबीसीलाई भनिन्, ‘म एक वैज्ञानिक हुँ, त्यसैले जहाँ भए पनि वैज्ञानिक प्रक्रियालाई सहयोग गर्न प्रयास गर्न चाहान्थे ।’ यो खोप ३ महिनाभित्र अक्सफोर्ड विश्वविद्यालयको टोलीद्वारा विकसित गरिएको हो । यो अभियानका लागि जेनर इन्स्टिच्युटबाट भ्याक्सिनोलोजीकी प्रोफेसर सारा गिलबर्टले प्रि–क्लिनिकल अनुसन्धानको नेतृत्व गरेकी थिइन् । खोपको परीक्षण सुरु गरेपछि उनले भनिन्, व्यक्तिगत रुपमा मलाई यो खोपमा निकै विश्वास छ’ प्रोफेसर गिल्बर्टले भनिन्, ‘मलाई ८० प्रतिशत आत्मविश्वास छ कि यो भ्याक्सिनले काम गर्छ ।’

बेलायतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ३८ हजारभन्दा बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस