सल्यानमा एक महिला डेंगुबाट संक्रमित

दियो अनलाइन
भाद्र ३१, सल्यान

सल्यान जिल्ला पनि डेंगुको जोखिममा रहेको छ ।

जिल्लाकाे पश्चिम क्षेत्रमा रहेकाे बनगाड कुपिण्डे नगरपालिकामा -६ स्थित  एक महिला डेंगु संक्रमित भएकी छन् । उनकाे स्थानीय अस्पतालमा समान्य उपचार पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको सल्लीबजारबाट पत्रकार दुर्गा विसी ले खबर पठाएका छन् ।

करिब २ हप्ता देखि विरामी भएर थला परिकी उनलाई स्थानीय मेडिकल तथा अस्पातलको औषधीले निको नभए पछि उपचारको लागि सुर्खेत लगिएको हाे ।उनलाइ डेंगु देखिएसँगै सल्यानको पश्चिम क्षेत्र समेत डेंगुको उच्च जोखिममा रहेको स्वास्थ्य कर्मिहरुको भनाई रहेको छ ।

भेरी नदि किनारमा बस्तीसँगै सल्लीवजार समेत निक्कै प्रदुषित रहेकोले स्थानीयलाई सचेत हुन सञ्जीवनी सामुदायीक अस्पताल सल्लीवजारका डाक्टर शुशिल मण्डलको आग्रह छ । बजारको नालीहरु निक्कै दुर्गन्धित र खोला, खाल्साहरुमा फोहर पानीको मात्रा बढिरहेकोले उच्च सजगता अपनाउन उनले आग्रह गरेका छन् ।

यसैबिच सल्यान जिल्लाका अन्य ठाउँमा पनि डेंगुको जोखिममा रहेको छ । जिल्लाको श्रीनगर, कालीमाटी संगै शारदा नदि करिडोरको बस्ती र भेरी नदि किनारमा रहेको सल्लीबार जोखिमयुक्त क्षेत्रको रुपमा रहेका छन् । यस बाहेक पूरै जिल्लामा नै डेंगुको जोखिम देखिएकोले उच्च सर्तकता अपनाउन थालिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

जिल्ला अस्पतालमा उपचारका लागी आएका बिरामीहरुमा देखिएको लक्षण र रगत जाँच गरेर डेंगुको परिक्षण गर्ने गरेको अस्पतालका प्रमुख डा. अर्जुन बुढा मगरले बताए । ‘सल्यान पनि डेंगुको जोखिममा रहेको छ, जुनसुकै बेला पनि महामारीको रुपमा फैलन सक्ने भएकाले सर्तकता आवश्यक छ’, उनले भने, ‘यसका लागी जिल्लामा नै परिक्षण गर्ने ब्यबस्था गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस