६ साउन २०८३/ दाङ
तत्कालीन राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार, सञ्चार उद्यमी स्वर्गीय देवीप्रसाद धिताल (हेमराज) को १६औँ स्मृति सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिएको छ।
त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि, दाङको आयोजनामा सम्पन्न स्मृति सभामा बोल्दै प्रालिका अध्यक्ष सुरेश हमालले हेमराज धिताल हत्या काण्डको अनुसन्धान अझै जारी रहेको उल्लेख गर्दै छिट्टै घटनाका वास्तविक दोषीहरू कानुनी दायरामा आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले वि.सं. २०६७ साल साउन ६ गते संस्थाका तत्कालीन अध्यक्ष तथा सञ्चार उद्यमी धितालको हत्या भएको स्मरण गर्दै घटना भएको १६ वर्ष बितिसक्दा पनि हत्यामा संलग्न दोषीहरूको पहिचान हुन नसक्नु दुःखद रहेको बताउनुभयो।
सत्य, न्याय र पीडित परिवारको न्यायिक अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायले अनुसन्धानलाई निष्कर्षमा पुर्याई दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो। अध्यक्ष हमालले स्वर्गीय धितालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका पूर्व अध्यक्ष प्रेमबहादुर बस्नेतले १६ वर्षको अवधिमा नेपालमा धेरै सरकार परिवर्तन भए पनि निर्दोष व्यक्तिको हत्यारा अझैसम्म पत्ता नलाग्नु दुःखद भएको बताउनुभयो। उहाँले वर्तमान सरकारले हेमराज धिताल हत्या काण्डको सत्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउने विश्वास
व्यक्त गर्नुभयो।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले सञ्चार उद्यमी धितालको हत्यारा वर्षौँसम्म पत्ता नलाग्नुले पीडित परिवार र आफन्तमा त्रासको वातावरण कायमै रहेको बताउनुभयो। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको पहिचानका लागि सञ्चार क्षेत्रले पनि निरन्तर आवाज उठाउँदै आएको उहाँले उल्लेख गर्नुभयो।
स्मृति सभामा भावुक बन्दै स्वर्गीय धितालकी ८१ वर्षीया आमा रेवता कुमारी धितालले वर्षौँ बित्दा पनि निर्दोष छोराको हत्यारा पत्ता नलाग्दा आफूहरू निरन्तर पीडामा बाँच्न बाध्य भएको बताउनुभयो। दोषीलाई कानुनी कारबाहीमा ल्याइएपछि मात्र आफ्नो मनले शान्ति पाउने उहाँको भनाइ थियो।
स्मृति सभाको अवसरमा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि, दाङले तुलसीपुर उपमहानगरपालिका–४, रक्षाचौरस्थित केहि गरिब तथा विपन्न गन्धर्व परिवारलाई रु. १० हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको थियो।
त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको केन्द्रीय कार्यालय, तुलसीपुर परिसरमा स्वर्गीय धितालको शालिकमा माल्यार्पण सहित सुरु भएको कार्यक्रममा यातायात व्यवसायी, सञ्चारकर्मी, समाजसेवी, परिवारका सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ,भने भरत लामिछानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रालिका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो।