सल्यानमा खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम सम्पन्न

८ जेष्ठ २०८३/ सल्यान

सल्यानमा सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थ ( Street Food ) को खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

हामी सवैको प्रतिबद्धता, खाद्य पदार्थमा स्वच्छता भन्ने मुलनाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रवार सल्यानको श्रीनगरमा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिकाकि उपप्रमुख सुस्मिता सापकोटाले अखाद्य बस्तु बिक्री वितरणले उपभोक्ताको स्वास्थ्यमा खेलवाड भैरहेको बताउनु भयो । उहाँले कार्यक्रममा सहभागी होटेल व्यवसायीहरुलाई ग्राहकहरुलाई खुवाउने खानामा गुणस्तरीयता कायम गर्न अनुरोध गर्नु भयो ।

 

कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी सापकोटाले पछिल्लो समयमा शारदा नगरपालिका भित्र मासिक रुपमा ३,४ जना क्यान्सर रोगका बिरामीलाई उपचारको लागि सिफारिस गर्नु पर्ने अवस्था रहेको बताउनु भयो ।उहाँले जिवनलाई जोखिममा राखेर देखावटी राम्रो र स्वादिलो खाना खानु भन्दा अर्गानिक खानालाई प्राथमिकता दिनु पर्ने आजको आवश्यकता भएको बताउनु भयो ।

सापकोटाले सल्यान जिल्लामा संचालित होटेल,खाध्यपसल लगाएत उपभोक्ता संग जोडिएका क्षेत्रमा अनुगमन गर्न जाँदा संचालहरुले अफ्ट्यारो महसुस गर्दै आएको भन्दै आगामी दिन देखि त्यस्तो
नगर्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले
मान्छे जीवन भर स्वच्छ तरिकाले जिउन पाउनु नै उस्को सवैभन्दा ठूलो सम्पत्ति भएको बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनु भएका सापकोटाले उक्त जीवन जिउनको लागी स्वच्छ,ताजा खाने कुरामा ध्यान दिनु पर्ने बताउनु भयो ।

उहाँले जिल्लाका विभिन्न स्थानहरु पटकपटक अनुगमन गर्दा अखाद्य बस्तु भेटिदै आएकाले,आगामी दिनमा यस्तो पाइएमा कानुन बमोजिम कार्वाही गरिने बताउनु भयो ।उहाँले जिल्ला बासीलाई स्थानीय उत्पादनलाई प्राथमिकता दिन समेत अनुरोध गर्नु भयो ।

 

सहभागीहरुलाई प्रशिक्षण दिदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत कपिल सुवेदीले सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको बारेमा जानकारी दिदै ग्राहकहरुको चाहाना,ब्यवसायीले आफ्नो व्यापार व्यवसायमा खेल्नु पर्ने भुमिका बारे प्रष्ट पार्नु भएको थियो ।उहाँले कार्यालयले गर्ने कामको बारेमा समेत जानकारी दिदै खाद्य पदार्थ बिग्रने कारणहरु,व्यक्तिगत सरसफाइ लगाएतका
बिषयमा समेत सहभागीहरुलाई ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय सितलपाटीका प्रमुख इश्वरी रोकाले सेवामा गुणस्तरीयता कायम गर्न र व्यवसायलाई थप प्रबर्द्धन गर्न श्रीनगर लगाएत आसपासका होटेल व्यवसायीहरुलाई ह्वाटसव ग्रुप निर्माण गर्न आग्रह गर्नु भयो ।उहाँले अहिलेको समय प्रविधियुक्त भएकाले त्यसलाई प्रयोगमा ल्याउन सवैलाई आग्रह गर्नु भयो ।रोकाले जिल्लामा विभिन्न खाले अपराधीक घटना घट्नेको संख्या वृद्धि हुँदै गएकोले त्यसको न्युनिकरण गर्नको लागि सिसि क्यामरा जडान गर्ने,ग्राहकको सहि बिवरण राख्ने लगाएतका बिषयमा समेत होटेल ब्यवसायीलाई निर्देशन दिनु भयो ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि लगाएत श्रीनगर बजारमा विभिन्न पेशा व्यवसायीमा आवद्ध ब्यक्तिहरुको उपस्थिति रहेको थियो,भने सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस