२२ साउन २०८२/ सल्यान
पुर्व मन्त्री ज्वाला द्वारा मिचाहा वनस्पति व्यवस्थापन अभियानको सुरुवातसल्यानमा मिचाहा वनस्पति व्यवस्थापन अभियानको सुरुवात गरिएको छ ।

मिचाहा (आक्रामक) वनस्पति फैलिदै गएर यसले समस्याको रुपमा लिन थालेपछि व्यवस्थापनको अभियान सुरुवात गरिएको हो ।
विहिवार पूर्वमन्त्री तथा संघिय सांसद प्रकाश ज्वालाले जिल्लाको सदरमुकाम खलंगामा रहेको लक्ष्मीप्रसाद देवकोटा पार्क नजिकै रहेको काडे बनमारा हटाउदै, तेजपातको बिरुवा रोपेर अभियानको सुरुवात गर्नु भएको हो ।

अभियानको सुरुवात गर्दै पूर्वमन्त्री ज्वालाले मिचाहा वनस्पतीले वनको जैविक विविधता, वातावरण, कृषि र वनजन्य उत्पादनमा गम्भीर असर पारेकाले तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यस्तो सकारात्मक कार्यमा सवै एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका ज्वालाले पछिल्लो समय मिचाहा झार अहिलेको समस्याको बिषय बनिसकेकोले सबै पक्ष लागेर निराकरण गर्न आवश्यक रहेको बताउनु भयो । यो नियन्त्रण गर्न तीनै तहका सरकारले बजेटको व्यवस्था गरेर साझा रूपमा अघि बढ्नुपर्ने बताउनु भयो । यो अभियान समुदाय र बस्तीमा पुर्याई बृहत बनाउन आवश्यक रहेको र नीतिगत तहमा यसको वकालत गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । पुर्व मन्त्री ज्वालाले सकारात्मक कामको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद दिंदै यसलाई दीर्घकालीन योजना अन्तर्गत विस्तार गर्नुपर्ने बताउनु भयो ।

डिभिजन वन कार्यालय सल्यान र वनस्पति अनुसन्धान केन्द्रले मिचाहा प्रजातिको वनस्पतिलाई हटाउने उदेश्यले अभियानको औपचारिक सुरुवात गरिएको बताइएको छ ।जिल्लाका सामुदायिक वन र किसानका खेतबारी तथा काल्नामा फैलिन गइ उत्पादनमा ह्रास आउन थाले पछि यसको व्यवस्थापनको लागि अभियानको सुरुवात गरिएको हो । विहिवार कार्यक्रममा अन्तर्गत मिचाहा वनस्पतिहरू हटाई तेजपात, मलागिरी लगायत झण्डै एक सय बिरुवाहरू रोपिएका छन ।

कर्मचारी मिलन केन्द्र सल्यानको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा, डिभिजन वन कार्यालय सल्यान , वनस्पति अनुसन्धान केन्द्र, सुरक्षा निकायहरू, सामुदायिक वन उपभोक्ता समिति, विभिन्न स्थानीय कार्यालयहरू र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुबेदीले आगामी हप्ताबाट यो अभियानलाई कार्यालय सरसफाइसँग जोडेर अघि बढाइने जानकारी दिनु भयो । कार्यक्रममा डिभिजन वन कार्यालय र वनस्पति अनुसन्धान केन्द्रले आवश्यक बिरुवाको व्यवस्थापन गरेका थिए ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकले यो अभियानलाई निरन्तरता दिँदै अन्य स्थानहरूमा पनि मिचाहा वनस्पतिको व्यवस्थापन गरिने बताउनु भयो । डा. पाठकका अनुसार नेपालमा हालसम्म रिपोर्ट भएका २९ प्रजातिका मिचाहा वनस्पतिमध्ये काँडे बनमारा, जङ्गली सूर्यमुखी, कालो बनमारा, र ८८ पार्थेनियम (कनिके झार)८८को प्रकोप बढी छ ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले मिचाहा प्रजातिलाई उत्पादनशील क्षेत्रका लागि ‘क्यान्सर’ जस्तै भएको उल्लेख गर्दै यसविरुद्धको अभियानलाई दीर्घकालीन रणनीतिमा लैजानुपर्ने बताउनु भयो ।
खलंगामा बाट सुरु गरिएको यो कार्यक्रम सल्यान जिल्लाभरि विस्तार गर्दै राष्ट्रिय अभियानको रूपमा अघि बढाउनुपर्नेमा सहभागीहरुको जोड रहेको छ ।