२१ असार २०८२/ सल्यान
सल्यानमा एक दिने गणित शिक्षण तालीम सम्पन्न भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एन–प्याब्सन) सल्यान द्वारा जिल्लाका गणित शिक्षकहरूलाई लक्षित गरी उक्त तालीम सम्पन्न गरिएको हो ।
शनिबार श्रीनगरस्थित होटल युनाइटेडमा भएको तालिममा
एलाइड पब्लिकेशनका गणित विषय लेखक अशोक डंगोलले
जिल्लाका निजी तथा सामुदायिक विद्यालयका करिब ७० जना गणित शिक्षकहरूलाई प्रशिक्षण दिनु भएको हो । बिधालय स्तरमा गणित शिक्षणलाई प्रभावकारी प्रयोगात्मक र बिद्यार्थीमैत्री बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको एन-प्याब्सन सल्यानले जनाएको छ ।
तालिमको अवसरमा हालै सम्पन्न एसईई परीक्षामा सल्यान जिल्लाभरिमा सबैभन्दा उच्च जीपीए हासिल गरी प्रथम स्थान प्राप्त गर्ने शारदा नगरपालिका–४ स्थित ज्योतिपुञ्ज एकेडेमीका विद्यार्थी अनिश डाँगीलाई विशेष सम्मान गरिएको थियो ।एन–प्याब्सन सल्यानले यसअघि पनि शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिसकेको जानकारी दिँदै आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिइने बताइएको छ ।
एलाइड पब्लिकेशन र कालिका स्टेसनरी एण्ड सप्लायर्स श्रीनगरको सहयोगमा भएको उक्त तालीमको अध्यक्षता एन–प्याब्सन सल्यानका अध्यक्ष संगम शाहले गर्नु भएको थियो भने, प्रमुख अतिथिका रूपमा एन–प्याब्सन कर्णाली प्रदेश अध्यक्ष कुलबहादुर भण्डारी रहनुभएको थियो ।