सल्यान जिल्ला लाई पुर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

१६ असार २०८२/ सल्यान 

सल्यान जिल्ला कर्णाली प्रदेशकै पहिलो खोप सुनिश्चिता तथा दिगोपना जिल्लाको रुपमा घोषणा भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनु पर्ने सम्पूर्ण खोप लगाइसकेको र जिल्लाका दश वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेपछि सोमबार जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जन्मिएकादेखि १५ महिनासम्मका ३ हजार ८ सय ५९ बालबालिकालाई पूर्ण रुपमा नियमित खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले जानकारी दिनु भयो । खोप पाउने उमेर समूहका सबै बालबालिकालाई सरकारले निशुल्क उपलब्ध गराउने सबै प्रकारका (१४ किसिमका) खोप लगाएको पाइएको उहाँको भनाई छ ।

उहाँका अनुसार दार्मा गाउँपालिकाका ४०९, कुमाख गाउँपालिकाका ३१९, बनगाड कुपिण्डे नगरपालिकाका ४६२, सिद्ध कुमाख गाउँपालिकाका २१३, बागचौर नगरपालिकाका ५३७, छत्रेश्वरी गाउँपालिकाका ३३७, शारदा नगरपालिकाका ५८६, कालिमाटी गाउँपालिकाका ३७५, त्रिवेणी गाउँपालिकाका ३३५ र कपुरकोट गाउँपालिकाका २८६ बालबालिकाले पूर्ण खोप लगाएको उहाँले बताउनु भयो ।

जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुको संख्या ८ हजार १ सय ८८ रहेको छ । शुन्य डोज लगाउन छुटेका ३३ बालबालिकाहरुको खोजी गरी खोप लगाइएको उहाँको भनाई छ । रिजालका अनुसार दार्मा गाउँपालिकामा ९७०, कुमाख गाउँपालिकामा १ हजार ५ सय ५१, बनगाड कुपिण्डे नगरपालिकामा ७७८, सिद्ध कुमाख गाउँपालिकामा १५१, बागचौर नगरपालिकामा १ हजार ५ सय २३, छत्रेश्वरी गाउँपालिकामा ३३३, शारदा नगरपालिकामा १ हजार ४९०, कालिमाटी गाउँपालिकामा १ हजार २०५, त्रिवेणी गाउँपालिकामा ८८४ र कपुरकोट गाउँपालिकामा १८३ १६ देखि ५९ महिनासम्मका बालबालिकाले पूर्ण खोप पाएका छन् ।

एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पुरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख डा. अजुर्न कुमार बुढाले बताउनु भयो । सल्यानलाई २०७९ भदौ १ गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा हुँदै आइरहेको छ ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप उपलब्ध गराउनका लागि स्थानीय सरकार, सरोकारवाला निकायको अपनत्व र सहभागिता उल्लेखनिय रहेको बताउनु भयो । रोग लाग्ने दर, अपांगता दर र मृत्युदरमा कमीलाई ल्याई स्वस्थ बालिका तयार गर्नु नै खोपको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ ।
कार्यक्रममा दशवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका पत्रकार लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस