७ असार २०८२/ सल्यान
जलवायु परिवर्तनको असर सवै भन्दा बढी विपन्न परिवार तथा महिला समुदायलाई पर्ने प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनु भएको छ ।पुनले वन, वातावरण र जलवायु परिवर्तनका सवालमा स्थानीय सरकार, सरोकार निकायका साथ नागरिक समाज बीचको सहकार्य अपरिहार्य भएको बताउँनु भयो ।
डिभिजन वन कार्यालय सल्यानको सहयोग र हिमालय ग्रामीण प्राकृतिक स्रोत व्यवस्थापन महिला समूह (हिमावन्ती) नेपाल, जिल्ला शाखा सल्यानको आयोजनामा खलंगामा सम्पन्न सरोकारवाला समन्वय बैठक तथा साधारणसभामा बोल्दै प्रमुख जिल्ला अधिकारी पुनले जलवायु परिवर्तनको असरले उच्च तापक्रम बाट बाढी पहिरो लगाएतका प्रकृतिजन्य घटनाहरु घट्न सक्ने भएकाले त्यस तर्फ सवै सतर्क रहनु पर्ने बताउँनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालिकाकी उपप्रमुख
सुस्मिता सापकोटा सुनारले,संस्थाले समुदायमा महिलाको नेतृत्व विस्तार र सशक्तीकरणमा उल्लेखनीय योगदान दिएको बताउनु भयो ।उहाँले यो क्षेत्रमा ( हिमावन्ती) संस्थाले महत्त्वपूर्ण भुमिका खेल्दै आएको र आगामी दिनमा समेत यसको प्रभाव बढाउनको लागि सवै लाग्नु पर्ने बताउनु भयो । डिभिजन वन कार्यालय सल्यानका डिभिजनल बन अधिकृत टेक बहादुर रावलले वन विनाशको नियन्त्रण, जलश्रोतको संरक्षण र वातावरणीय सन्तुलनका लागि महिला समूहहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले महिलाहरूको सहभागिताबाट मात्रै वनको दीगो व्यवस्थापन सम्भव भएको र वन कार्यालयले विभिन्न समयमा समन्वय र सहकार्य गर्दै काम गरिरहेको बताउनु भयो । कार्यालय प्रमुख रावललेव स्रोत संरक्षणमा लैङ्गिक न्याय, स्थानीय निर्णय प्रक्रियामा महिलाको पहुँच, सुशासन र उत्तरदायित्वका विषयमा अझै सशक्त वन्न जरुरी रहेको बताउनुभयो ।
हिमावन्ती नेपाल सल्यानकी जिल्ला अध्यक्ष पद्मा शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपाने,जिल्ला समन्वय समिति सल्यानका निम बहादुर वली, नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुनलगायत सरोकार निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
हिमावन्ती नेपालले महिला नेतृत्व विकास गर्दै उनीहरूलाई स्रोत व्यवस्थापनमा निर्णायक बनाउने तथा समुदायमा लैङ्गिक समानता, सामाजिक न्याय र वातावरणीय दीगोपनाको पक्षमा नीतिगत, व्यवहारिक र सीपमूलक कार्य गर्दै आएको जिल्ला अध्यक्ष पद्मा शाहले बताउनु भयो भने संस्थाकी उपाध्यक्ष कमला अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव शान्तीप्रभा पुरीले गर्नुभएको थियो ।