२४ जेष्ठ २०८२/ सल्यान
राप्ती लोकमार्गको राम्री कपुरकोट सडक दैनिक ७ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानले शुक्रवार सार्वजनिक गरेको सुचना अनुसार उक्त सडक खण्डको स्तरोन्नतिका लागी दैनिक ७ घण्टा सवारी आवागमन बन्द गरिने भएको हो ।
जेठ २५ गते बाट असार १ गते सम्म प्रत्येक दिन विहान ११ बजे देखि वेलुकी ५ बजे सम्म सवारी आवागमन बन्द गरिने भएको हो ।उक्त अवधीमा साना सवारी साधनको लागि पैयाखोरीया,सातावास,किमुचौर,कपुरकोटको वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।
श्री आर.डी उज्वल लोकमणी जे.भी घोराही दाङले उक्त सडकको स्तरोन्नतिका लागी पटक पटक सवारी आवागमन बन्द गर्दै आएपनी काममा भने तिब्रता नदिएको यातायात व्यवसायीको गुणासो छ ।
उक्त सडक खण्डको स्तरोन्नति गर्न सहज होस भनेर धेरै पटक सडक बन्द गरियो तर निर्माण कम्पनीले ढिला सुस्ती गर्दै आएकाले गाडी व्यवसायीहरु मारमा पर्दै आएको त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङका, दाङ सल्यान रुकुम रुट इन्चार्ज प्रकाश भण्डारीले बताउनु भयो ।उहाँले उक्त सडक बन्द भएको खण्डमा वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने र जोखिम पुर्ण सडकमा गाडी गुडाउन आफुहरु बाध्य रहेको बताउँनु भएको छ ।
यता सडक निर्माण कम्पनीका इन्जिनियर वसन्त भण्डारीले
उक्त सडकको स्तरोन्नति कार्यमा ढिला सुस्ती नभएको बताउनु भएको छ । गुणस्तरीय काम लाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाइएको र केही प्राविधिक समस्या बाहेक अन्य समयमा निरन्तर काम भैराखेको उहाँले बताउँनु भयो ।यो पटकको बन्दमा २ किलो मिटर सडक पिच गर्ने लक्ष्य रहेको र वैकल्पिक मार्गको जोखिमलाई कम गर्नको लागि निर्माण कम्पनीले उक्त सडकलाई मर्मत सम्भार गर्न सुरु गरेको बताउनु भयो ।
राप्ती लोकमार्ग स्तरोन्नतिको कारणले समय समयमा गाडी आवागमन बन्द हुन थालेपछि लामा गाडिहरु दाङ तुलसीपुर,हापुरे,कालिमाटी,काभ्रा हुँदै लुहाम निष्कन थालेका छन् ।उक्त सडकमा पनि ठुला गाडी संचालनमा गर्न अलि गार्हो भएको व्यवसायीहरुको भनाई छ ।लुहाम सडक खण्डको कालिमाटी गाउँपालिकाको सिमा भित्रका अफ्ट्यारो ठाउँहरुमा केहि दिन भित्र गाउँपालिकाले मर्मत सम्भार गरिदिने कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताउनु भएको छ ।