८ जेष्ठ २०८२/ सल्यान
सल्यानमा होटेल रेस्टुरेन्ट तथा होमस्टेको लागी आतिथ्यता सम्बन्धि तालीम सुरु भएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको सल्लिबजारमा
होटेल रेस्टुरेन्ट तथा होमस्टेको लागी आतिथ्यता सम्बन्धी २ दिने तालिम सुरु गरिएको हो ।
कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेतको आयोजनामा सुरु भएको उक्त तालीममा,वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिका भित्र होटेल तथा रेस्टुरेन्ट संचालन गरेका ५० जना व्यवसायीहरुको तालिममा सहभागी रहेको छ ।
मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ,पर्यटन आउने सम्भावना भएको क्षेत्रहरूमा यस्तो तालीमको आयोजना गरिएको वन अनुसन्धान तथा प्रशिक्षणका निर्देशक रेणुका न्यौपानेले बताउनु भएको छ । न्यौपानेका अनुसार नेपालका एक सय पर्यटकीय क्षेत्र अन्तर्गत कुपिण्डे दह लगायत भेरी नदी समेत भएकोले पर्यटनको क्षेत्रको राम्रो सम्भावना रहेकोले यस क्षेत्रका होटेल रेस्टुरेन्ट व्यवसायी लाई तालीम दिएको बताउनु भयो ।
वनगाड कुपिण्डे सब डिभिजन वन कार्यालय सल्लीबजारका प्रमुख कमल चित्रकार, सामुदायिक वन उपभोक्ता महा सङ्घ कर्णाली प्रदेश सचिवालय सदस्य इन्द्रबहादुर बुढाथोकी, लेखा अधिकृत चन्द्रमती बस्नेत, सिम्ता सब डिभिजन गोविन्दलाल गिरी लगायतको उपस्थिति रहेको थियो ।
शुक्रबार सम्पन हुने तालिमका सहभागीहरुलाई प्रशिक्षक केशव बहादुर कठायतले प्रशिक्षण गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र अधिकृत गंगा त्रिपाठीले गर्नु भएको हो ।