७ जेठ २०८२/ सल्यान
राप्ती लोकमार्गको राम्री कपुरकोट सडक खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
मंगलवार जिल्ला प्रशासन कार्यालय सल्यानले एक सूचना जारी गर्दै
जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोलादेखि राम्री सडक खण्डको स्तरवृद्धि तथा कालोपत्रे गर्नका लागि एकसाताको लागी सडक बन्द गरिएको उल्लेख गरिएको छ ।
राप्ती राजमार्गको चोरखोलादेखि राम्रीसम्मको सडक खण्ड स्तरवृद्धि तथा कालोपत्रे गर्ने कामलाई लगातार गाडी सञ्चालनले प्रभावित पारेको हुँदा तोकिएको समयमा सम्पन्न हुन नसक्ने अवस्था सृजना भएपछि एकसाताको लागी दैनिक ६ घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले जानकारी दिनु भयो ।
निर्माण कम्पनीले काम गरिरहेको समयमा लगातार गाडी चल्दा कामसमेत बिग्रने गरेको र काममा ढिलासुस्ती भएकै कारण निर्माण कम्पनीको आग्रहमा राप्ती राजमार्ग दैनिक बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि बन्द गरिएको बिष्टले जानकारी दिनु भयो ।वर्षातको समयमा पहिरो जाने र सिमेन्ट फ्याक्ट्रीको चुनढुंगा बोक्ने टिपरका कारण सडक बिग्रने भएकाले,निर्माण कम्पनीले काम गर्दै आए पनि सोचे अनुसार प्रगति नदेखिएको बताइएको छ ।
सडक निर्माणको काम जतिसक्यो छिटो सम्पन्न गर्न यो भन्दा अघि पनि पटक पटक राप्ती राजमार्ग बन्द गरिएको थियो ।
तोकेको समयमा काम हुन नसकेका कारण यात्रुले बाह्रै महिना विभिन्न समस्या भोग्दै आएकाले आउँदा दिनमा सास्ती भोग्न नपरोस भनेर नै छिटो छरितो काम सम्पन्न गर्न सबैको सल्लाहमा दैनिक ६ घन्टा राप्ती राजमार्ग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनु भएको छ ।