पेट्रोलियम पदार्थको अवैध बिक्री वितरणमा कडाई

१३ फागुन २०८१/ सल्यान

सल्यानमा पेट्रोलियम पदार्थको अवैध बिक्री वितरणमा कडाई गरीने  भएको छ ।

जिल्ला प्रशासन कार्यालय,सल्यानले पेट्रोलियम पदार्थको
अवैध बिक्री तथा वितरण रोक्न कडा निगरानी राख्ने घोषणा गरेको छ।प्रशासनले एक सूचना जारी गर्दै कानून बमोजिम इजाजत प्राप्त व्यवसायीहरूले मात्र पेट्रोल, डिजेल लगायतका इन्धन बिक्री वितरण गर्न सक्ने व्यवस्था रहेको स्मरण गराएको छ। तर, हाल जिल्लाका विभिन्न स्थानहरूमा गैर-पेट्रोलियम व्यवसायी तथा व्यक्तिहरूले अवैध रूपमा इन्धन बिक्री गरिरहेको गुनासो आएपछि प्रशासनले कडा कदम चाल्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सरोकारवालाहरूको बैठक बसेर गरिएको निर्णयअनुसार, अब इजाजत प्राप्त व्यवसायीबाहेक अन्य व्यक्तिहरूले पेट्रोल, डिजेलको खरिद–बिक्री गर्न नपाउने जनाइएको छ। साथै, इन्धन व्यवसायीहरूलाई १५ दिनसम्मका लागि आवश्यक मात्रामा भण्डारण गर्न पनि निर्देशन दिइएको छ।
प्रशासनले यदि कसैले अबैध रूपमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा कडा कानूनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, यदि कसैले यस्तो गतिविधि देखेमा प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मालेले हस्ताक्षर गरी जारी गरेको सूचनामा स्पष्ट रूपमा भनिएको छ कि अबैध रूपमा इन्धन बिक्री गर्ने जो–कोहीलाई कानूनी दायरामा ल्याइनेछ। यदि कसैले नियम उल्लंघन गरेमा सम्बन्धित निकायले तत्काल कारबाही गर्ने जनाइएको छ।
स्थानीय प्रशासनको यो कदमले पेट्रोलियम पदार्थको अनियमित वितरण रोक्ने तथा कालोबजारी नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस