रानागाउमा २४ लाख बढी लागतमा सिद्धको मन्दिर निर्माण

२२ असोज २०८१/ सल्यान 

सल्यानको रानागाउंमा २४ लाख बढिको लागतमा मन्दिर निर्माण गरिएको छ ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६, रानागाउँमा रहेको ऐतिहासिक र धार्मिक महत्वको सिद्ध भवन्तनाथ मन्दिरको मंगलबार उद्घाटन गरिएको हो । मन्दिरको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले धार्मिक आस्थाले मानिसहरूलाई एकताबद्ध गर्न र समाजमा सद्भाव फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गर्नु भयो । उहाँले छत्रेश्वरी गाउँपालिका धार्मिक तथा पर्यटकीय स्थलका दृस्टिकोणले अग्रस्थानमा रहेको भन्दै सबै सम्पदाहरुको विकास र प्रचारप्रसारका लागि थप नया योजना बनाएर अघि बढ्ने बताउनु भयो ।

 

छत्रेश्वरी गाउँपालिकाको २२ लाख रुपैयाँ बजेट र स्थानीय जनश्रमदान वापत २ लाख २० हजार गरी कुल २४ लाख २० हजार रुपैयाँ लागतमा मन्दिरसँगै गेट र तारबार निर्माण गरिएको छ। यस मन्दिरको निर्माणले स्थानीय बासिन्दामा धार्मिक आस्था बलियो बनाउन ठूलो भूमिका खेलेको वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढाले जनाउनु भयो । कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य रेणु बिक, वडा सदस्य खडगनाथ योगी, पुर्व जिविस सभापती अनुबमसिंह श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रनाथ योगी, मन्दिर निर्माण समितिका सचिव डैन बहादुर भण्डारी लगायतले बोल्दै धार्मिक परम्पराहरुलाइ निरन्तरता दिदै मठमन्दिरको संरक्षणमा सबैले चासो दिनुपर्ने बताउनु भएको थियो । मन्दिर उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य विर बहादुर बिक, वडा सदस्य सागर नेपाली लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, महिला समूह, सामुदायिक बन समूह र बिद्यालयका प्रतिनिधिहरु एवम स्थानियहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

सो अवसरमा स्थानीय मौलिक सांस्कृतिक परम्पराको संरक्षणका लागि सो अवसरमा सोरठी नृत्य प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई अझ रोचक र आकर्षक बनाएको थियो। स्थानीयहरूले मन्दिरको निर्माणसँगै धार्मिक आस्था र परम्परालाई जोगाउन सफल भएको भन्दै खुसी व्यक्त गरेका छन्। वर्षौँ पुरानो दैवी शक्तिको केन्द्र मानिएको यस स्थानमा विजयादशमीका अवसरमा नवमीको दिन विशेष पूजा हुने गरेको छ। मन्दिर निर्माणपछि यहाँ दर्शनार्थीहरूको चहलपहल बढ्ने विश्वास गरिएको छ । मन्दिरको निर्माणसँगै धार्मिक पर्यटनमा वृद्धि हुने अपेक्षा छ। मन्दिर उद्घाटन कार्यक्रमको सहजीकरण पत्रकार शंकर केसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस