पत्रकार महासंघ सल्यानको छैटौं अधिवेशन सम्पन्न

२९ चैत २०८०/ सल्यान

नेपाल पत्रकार महासंघ सल्यानको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

बिहिवार सल्यानको त्रिवेणी गाउँपालिकाको लुहाममा सम्पन्न भएको अधिवेशनमा बोल्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले समाज परिवर्तन गर्न शक्ने शक्ति पत्रकारितामा हुने बताउनु भएको छ ।उहाँले समाजले बिश्वास गर्ने र आवाज विहिनको आवाजको रूपमा पत्रकारले काम गर्ने भएकाले पत्रकारिता पेशा अंगालेर काम गर्न चुनौती भएको बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रावतले पत्रकारहरुले जनताका,जनजीविका, विकास र पछाडी परेका वर्ग र समुदायलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । मिडियामा राजनीतिक विषयलाई मात्र महत्व दिँदा विकास र पछाडी परेका वर्गका विषयले कम महत्व पाएकाले त्यसतर्फ पत्रकारको ध्यान जानु पर्ने उहाँको भनाई छ ।
उहाँले त्रिवेणि गाउँपालिकामा पत्रकार महासंघको अधिवेशन मर्यादित ढंगले सम्पन्न हुँदा आफू खुसी भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्दीय कोषाध्यक्ष कलेन्द्र सेजवालले पत्रकारले खोजमुलक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनु भयो । पछिल्लो समय निष्पक्ष र खोजमुलक पत्रकारिता हराउँदै गएको बताउदैँ उहाँले नागरिकको मन जित्ने गरी काम गर्न सुझाव दिनुभयो । पत्रकारिता क्षेत्र निकै जोखिम भएको र यो पेसाले आज देशमा आमुल परिवर्तन ल्याएको बताउनु भयो ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनु भएका सेजवालले सल्यान जिल्लाको पत्रकारिता मर्यादित र जनपक्षीय भएको बताउनु भयो ।उहाँले निश्पक्षता, निडर स्वतन्त्र भएर राम्रो वा नराम्रो कामको चिरफार गर्न जोड दिनु भयो ।

कार्यक्रममा त्रिवेणी गाउँपालिका उपाध्यक्ष सिता खड्का पुन, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्की, त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्मा, महासंघका कर्णाली प्रदेश समिति महासचिव खगेन्द्र भट्टराई, इप्रका लुहामका प्रमुख रेशमलाल पौडेल, जिल्ला हुलाक कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख पूर्ण बहादुर बुढाथोकी, त्रिवेणी गापाका विभिन्न वडाका वडा अध्यक्षहरु, पत्रकार महासंघका केन्द्रीय तथा प्रदेश परिषद सदस्यहरु, महासंघका प्रदेश समितिका सदस्यहरु, पूर्व केन्द्रीय सदस्य, महासंघ सल्यान शाखाका सल्लाहकारहरु, विभिन्न पत्रकार संगठनका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका प्रमुख प्रतिनिधी, महासंघका साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा सल्यानमा क्रियाशिल तीन जना पत्रकार सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ सल्यानको छैठौ अधिवेशनको अवसरमा विभिन्न पत्रकारिता पुरस्कार तीन जना पत्रकार सम्मानित हुनुभएको हो ।शालिकराम स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार डिल्लीराज रावत, लोकमान बुढाथोकी संस्थापक नगरप्रमुख पत्रकारिता पुरस्कार बाट यादव उपाध्याय र अजिता स्मृती पुरस्कारबाट शिवा डाँगी पुरस्कृत हुनु भएको छ ।

नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षता,उपाध्यक्ष सरिता चलाउनेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचीव टिकाराम भण्डारी( दिपसागर) ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस