दलित विकास समाज सल्यान (DDS) द्वारा हिवल्चा स्वास्थ्य चौकीलाई सामाग्री हस्तान्तरण

११ पौष, सल्यान

सल्यानको शारदा नगरपालिका वडा नम्बर ११ स्थित हिवल्चा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरका लागि दलित विकास समाज सल्यानले आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।

वान हार्ट वल्डवाइडको आर्थिक सहयोगमा दलित विकास समाज सल्यानद्वारा संचालित स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना मार्फत हिवल्चा स्वास्थ्य चौकीलाई बुधबार १ लाख ८० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । दलित विकास समाजका कार्य समिति सदस्य शान्ता नेपालीले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा दलित विकास समाज एस.एम.एन.एच.एस. परियोजनाका फिल्ड अधिकृत, युवाराज थापा, सोही परियोजनाका वित्त तथा प्रशासन अधिकृत तृष्णा सुनार, हिवल्चा स्वास्थ्य चौकीका व्यवस्थापान समिति उपाध्यक्ष चोक कुमारी थापा, स्वास्थ्य चौकी इन्चार्ज जिवन बुढाथोकी, सिअहेव नन्दलाल के.सी., सिअनमी माया के.सी.र स्थानीयको उपस्थिती रहेको थियो ।

स्थानीय स्तरका बर्थिङ सेन्टरलाई सबलीकरण गर्दै शिशु मृत्युदरलाई कम गर्ने र गर्भवती महिलालाई स्वास्थ्य संस्थामै बच्चाको जन्म दिनका लागि प्रोत्साहन गर्न सामाग्री हस्तान्तरण गरिएको दलित विकास समाज सल्यानका कार्यवाहक अध्यक्ष हेमराज विकले बताउनु भयो । हाल सम्म उक्त संस्थाले २० वटा स्वास्थ्य संस्थामा सामाग्री हस्तान्तरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस