२७ मंसीर २०८०/ सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिकामा १० दिने डकर्मी तालिम संचालन गरिएको छ ।

पालिका भित्र सौचालय निर्माणमा जोड दिनको लागि उक्त तालिमको आयोजना गरिएको हो ।
बुधबार तालिमको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले स्थानीयको सीप प्रबर्द्धन र गाउँपालिका भित्रका विभिन्न स्थानमा स्तरीय संरचना निर्माणको लागि उक्त तालीमको आयोजना गरिएको बताउनु भयो ।
उहाँले तालिममा सहभागी धेरैजसोले विगत देखि नै मिस्त्री काम गरिरहेको र यसलाई थप निखार्न, नयाँ ढङ्गले निर्माण कार्य गर्न र दक्षता बढाउन अनुरोध गर्नु भयो ।

पूर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउन सहयोग पुग्ने अपेक्षा सहित संचालित,सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना सु. स्वा.अन्तर्गत पालिकाभित्रमा डकर्मी तालिम प्रदान गर्न लागिएको हो । तालिममा संरचना निर्माणका लागि उपयुक्त स्थानको छनौट, नक्सा, संरचना प्रणाली, निर्माण सामग्रीको गुणस्तर, भार बहन पद्धति, निर्माण सामग्रीको प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिने गाउँपालिकाको वास इकाईले जानकारी दिएको छ ।
तालिमको प्रमुख प्रशिक्षकमा हरि बहादुर खड्का र सहायक प्रशिक्षकमा युवराज खत्री रहनु भएको छ । सहभागीहरूले बस्ती स्तरमा नै पुगेर प्रयोगात्मक रुपमा भूकम्प प्रतिरोधी संरचना निर्माण बारे पनि ज्ञान र सीप सिक्ने वास सहजकर्ता सुरज वलीले जानकारी दिनु भयो ।
तालिम अन्तर्गत स्तरीय शौचालय नभएका तथा शौचालय नै नभएका गाउँपालिकाभित्रका २० घरधुरीमा शौचालय निर्माण गर्ने लक्ष्य रहेको वास इकाई छत्रेश्वरीका प्राविधिक सहजकर्ता गम्भीर जङ्ग चन्दले जानकारी दिनु भएको छ । चन्दका अनुसार ती घरहरूमा प्रशिक्षकहरू सँगै सहभागी प्रशिक्षार्थीहरुले शौचालय निर्माण गर्ने छन् ।डकर्मी तालिममा सम्बन्धित वडाबाट सिफारिस भए अनुसार जम्मा १० जना प्रशिक्षार्थी सहभागीता रहेको छ ।
