११ साउन २०८० / सल्यान
सल्यानको एक स्थानीय तहका कर्मचारी माथी कुटपिट भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथि कार्यकक्षमै कुटपिट भएको हो ।
बुधबार दिउँसो त्रिवेणी, ६ कोसपिपल निवासी जनक बुढाथोकीले विना कुनै कारण शाखा प्रमुखमाथि आक्रमण गरेको गाउँपालिकाले जनाएको छ ।
आफ्नै कार्यकक्षमा बसेर वार्षिक प्रगति विवरण तयार गर्दै गर्दा,बुढाथोकीले दिउँसो २ बजे आएर आफुलाई आक्रमण गरेको पशु बिकास शाखा प्रमुख वशन्त रावतले बताउनु भयो ।
केही वर्ष पहिले पनि त्रिवेणी गाउँपालिकामा लेखा प्रमुखमाथि कुटपिट भएको भन्दै पशु विकास शाखा प्रमुख रावतले राष्ट्रसेवक कर्मचारीमाथि कुनै कमजोरी विना आक्रमण, कुटपिट हुनु दुःखद विषय भएको भन्दै आफ्नो जीउज्यानको सुरक्षाका लागि भएपनि दोषीमाथि कारवाहीका लागि प्रहरीकहाँ जाहेरी दिने तयारी गरिएको बताउनु भयो ।आक्रमणबाट चश्मा फुटेको भन्दै रावतले ५÷६ पटक टाउकोमा प्रहार गरेको जानकारी दिनु भयो ।
गाउँपालिकाकै उत्कृष्ट कर्मचारी रावतमाथि कार्यकक्षमै विना कारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले कुटपिट गर्ने व्यक्तिलाई प्रहरीको जिम्मा लगाई कारवाहीका लागि लेखी पठाइएको बताउनु भएको छ ।