१२ असार २०८०/सल्यान
सल्यानमा किसानहरुलाई उन्नत जातका भैसी वितरण गरेको छ ।

दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने भन्दै सल्यानको त्रिवेणी गाउँपालिकामा किसानलाई, उन्नत जातका भैँसी वितरण गरिएको हो ।
एक पालिका एक पशु वस्तु उत्पादन कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिका ३ कारावासका किसानलाई उन्नत जातका भैँसी वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।
किसानको आर्थिक सामाजिक जीवन स्तर उकास्न र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन विगतका वर्षहरू झैँ यस वर्ष पनि व्यावसायिक किसानलाई भैँसी वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख गोविन्द महतले बताउनु भएको छ । उहाँले जिल्लामा यस वर्ष दूध उत्पादनमा वृद्धि गर्न त्रिवेणीमा १५, दार्मा गाउँपालिकामा १५ र बागचौर नगरपालिकामा १५ उन्नत जातका भैँसी वितरण गरिने बताउनु भयो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको ७० प्रतिशत, गाउँपालिकाको १० प्रतिशत र किसानको २० प्रतिशत लागतमा भैँसी ल्याइएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भएको छ । आफूले लगानी नगरेसम्म नहुने भएकाले थोरै भएपनि किसानलाई लगानी गर्ने अभियान पालिकाले थालनी गरेको उहाँको भनाई छ । त्रिपक्षीय साझेदारीमा काम गरिएकाले भैँसी पालन प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको रावतको भनाई छ ।