एघारौं उद्योग दिवसको अवसरमा, दुई उद्यमी सम्मानित

९ मंसिर २०८२/ सल्यान

सल्यानका दुई उद्यमीलाई सम्मान गरिएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले एघारौँ उद्योग दिवसको अवसरमा जिल्लाका दुइजना उद्यमीहरुलाई सम्मान गरेको हो ।

मंगलवार सल्यानको श्रीनगरमा भएको कार्यक्रममा
जिल्लाको दार्मा गाउँपालिका वडा नं.६ ढाकाडाममा सञ्चालित लालिगुराँस उनी सल उद्योगका सञ्चालक सिता शाही र कालिमाटी गाउँपालिका वडा नं. २ का मह उत्पादक लोकेन्द्र बहादुर वलीलाई सम्मान गरिएको हो ।

औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रका आधार, भन्ने मुल नाराका साथ साथ सुरु भएको उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले समाजसेवा गर्ने राजनीतिक दलहरु समेत उद्यमी बन्न आवश्यक रहेको बताउनु भयो ।उहाँले सिप र श्रमको भरपुर उपयोग गरी नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउनु पर्ने जोड दिनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रावलले देशमा आयतलाई विस्थापन गरी निर्यातलाई बढावा दिन पनि साना उद्योगको स्थापना तथा प्रबर्द्धन आवश्यक रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले देशको अर्थतन्त्रको मेरुदण्ड नै उद्योग भएकाले सानो लगानीबाट पनि देशको आर्थिक विकास टेवा पुर्‍याउन सकिने बताउनु भयो ।उहाँले दृर्घकालिन रुपले उद्योग संचालनले समाजलाई नै सकारात्मक बाटो तर्फ लिने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी सुवेदीले समाजका शिक्षित व्यक्ति , राजनीतिकर्मी, कमचारी सबैले उद्योग सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ सल्यानका बाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारी, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मनविर बस्नेत, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख
श्यामलाल खरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लामा उद्योगी,व्यापारी र व्यवसायीहरु लगाएत अन्य सर्वसाधारणको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण कार्यालयका सूचना अधिकारी ध्रुव बहादुर खत्रीले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस