नगर प्रमुख गौतम द्वारा प्रथम चौरपानी पुरुष भलिबल प्रतियोगिताको उद्घाटन

३१ असोज २०८२/ सल्यान

सल्यानमा प्रथम चौरपानी पुरुष भलिबल कप प्रतियोगिता २०८२ सुरु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडानं.३ चौरपानीमा उक्त प्रतियोगिता सुरु गरिएको हो ।

राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने मुलनारा सहित अमरज्योति माध्यमिक बिधालय चौरपानीको खेलमैदानमा सुरु गरिएको कार्यक्रमको उद्घाटन बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले गर्नु भएको हो ।


विहिवार कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख गौतमले खेलकुदले युवाहरूमा अनुशासन, एकता र नेतृत्व र क्षमताको विकास गराउने बताउनु भयो ।

उहाँले नगरपालिका भित्र पछिल्लो समयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिदै आएको र ती कार्यक्रमले नगरपालिका भित्रका खेलाडीहरुलाई थप अवसरको बाटो खुलेको बताउँनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गौतमले आगामी दिनहरुमा यस्ता खाले कार्यक्रम आयोजनाको लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने भन्दै,कार्यक्रम सफलता पुर्वक सम्पन गर्नको लागि आयोजक टिमलाई निर्देशन दिनु भयो ।

युवा समाज चौरपानीको आयोजना कार्तिक १ गते सम्म संचालन गरिने उक्त कार्यक्रम उद्घाटन सत्रको विशिष्ट अतिथिमा  बागचौर नगरपालिका वडानं. ३ का वडा अध्यक्ष भीमप्रकाश भण्डारी, निवर्तमान वडा अध्यक्ष टिकाराम के.सी, सल्यान उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र भण्डारी रहनु भएको थियो ।यस्तै अन्य अतिथिहरुमा  वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

गाउँस्तरका खेल प्रतिभा उजागर गर्ने र युवाबीच आपसी सद्भाव र एकता सुदृढ बनाउने उद्देश्यले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम आउने भलिबल टिमलाई ५० हजार,दोस्रो आउने टिमलाई ३०हजार र तेस्रो आउने टिमलाई २० हजार नगद,कप र प्रमाणपत्र
प्रदान गरिने आयोजक टिमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस