५ असोज २०८२ / सल्यान
सरस्वती माध्यमिक विद्यालय, बागचौर नगरपालिका–४ शिवरथको दुई कोठे पक्की भवन उद्घाटन गरिएको छ ।
आइतबार एक कार्यक्रमका बिच नव निर्मित भवन उद्घाटन,आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक र दशैँ–तिहारको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सांसद भिमप्रकाश शर्माले विद्यालयको विकासलाई प्राथमिकतामा राख्दै यसलाई नमूना विद्यालय बनाउन आफुले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले विद्यालयको लागि आवासीय भवन निर्माणको लागि पहल गर्ने समेत बिश्वास व्यक्त गर्नु भयो ।उहाँले शैक्षिक सुधारको क्षेत्रमा सरस्वती माध्यमिक बिधालय शिवरथ पेदिखोलाको भुमिका महत्त्वपूर्ण रहेको भन्दै अझै पनि रचनात्मक कार्य गर्न बिधालय परिवारलाई अनुरोध गर्नु भयो ।
यस्तै कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उपप्रमुख सुम्निमा डिसी वलीले बिधालयको भवन निर्माण कार्यले बिधालयका काम कार्वाहीमा थप मद्दत पुग्ने बताउनु भयो ।उहाँले बिधालयको भौतिक संरचना निर्माण हुनु सकारात्मक कार्य भएको भन्दै आगामी दिनमा नगर सरकार बाट हुने सम्पुर्ण सहयोग गर्न आफुहरु प्रतिबद्ध रहेको बताउँनु भयो ।कार्यक्रमकि बिशिस्ट अतिथि समेत रहनु भएकी वलीले बिधालय परिवार, अभिभावक,बिद्यार्थी र सरोकारवाला निकायको सधै समन्वयका साथ विभिन्न काम गर्ने बिधालयको सकारात्मक पक्ष रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेश कुमार के.सी.ले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रधानाध्यापक केसीले कार्यक्रममा
विद्यालयको हालको अवस्था,आगामी योजना र रणनीतिहरु समेत प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका शिक्षा शाखा अधिकृत नरेन्द्र प्रसाद भट्ट, वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर बस्नेत, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,लगाएत सरोकारवाला निकायका व्यक्तिहरुले शिक्षा नै समग्र विकासको आधार भएकाले विद्यालयको भलाइका लागि सबै सरोकारवालाले भेदभावरहित वातावरण निर्माण गर्दै हातेमालो गर्नुपर्नेमा जोड दिनु भएको थियो ।उहाँहरुले गुणस्तरीय शिक्षा बिना देशको बिकासमा समेत गुणात्मक परिणाम आउन कठिन हुने भएकाले गुणस्तरीय शिक्षामा जोड दिन बिधालय परिवारलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा वडानं.४ का वडा सदस्य, कार्यपालिका सदस्य तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु र सर्वसाधारणको सहभागिता रहेको थियो भने,४ र ५ नंं. वडाका आमा समूहहरुले आफ्ना विभिन्न प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो ।
सोही बिधालयका बिधालय व्यवस्थापन समितीका अध्यक्ष रामप्रसाद पुनको अध्यक्षता,शिक्षक महेन्द्र कुमार खत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन बिधालयका सहायक प्रधानाध्यापक रविकिरण ओलीले गर्नुभएको हो ।