सहिद भरत प्रसाद ओली हितैसीको २५औँ स्मृति सभा सम्पन

६ भदौ २०८२/ सल्यान

सहिद भरत प्रसाद ओली हितैसीको २५औँ स्मृति सभा एक कार्यक्रमका बिच सम्पन गरिएको छ ।

जनयुद्धको समयमा सहिद बन्नु भएका वलीको स्मृति सभा उहाँकै घर शिवरथ खुरखुरेमा गरिएको हो ।

शनिबार भएको २५ औं स्मृति सभा कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृति बहादुर पुन ( प्रकाण्ड) ले सहिदहरूको योगदानको चर्चा समाजमा निरन्तर गर्नुपर्नेमा जोड दिनु भएको छ ।समाज परिवर्तनका लागि सहिदले दिएको बलिदानलाई मूल्यांकन नगरी नयाँ समाज निर्माण सम्भव नहुने भएकाले शहिदको इतिहास लाई सधै जिउदो राख्नु पर्नेमा जोड दिनु भयो । पुनले भरत प्रशाद वली ( हितैसी) सहिद भएर गएपनी समाजमा उहाँले गरेका सकारात्मक कामहरु अहिले पनि जिवितै रहेको बताउनु भयो ।

 


नेकपा माओवादी केन्द्रका वडाइन्चार्ज कलिराम वलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भिम प्रकाश शर्मा, निम बहादुर केसी र ज्ञान बहादुर वली, जिल्ला संयोजक मान बहादुर मल्ल, संस्थापक सचिव कमल बहादुर चन्द, प्रदेश कमिटी सदस्य हरि प्रकाश बुढाथोकी, कल्पना पुन, हरिलाल डिसी, बागचौर नगरपालिका प्रमुख शोभाराम भण्डारी, कर्मचारी संगठनका केन्द्रीय सदस्य पूर्ण वली, पत्रकार हिरालाल केसीलगायतका वक्ताहरूले सहिदलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको हो ।
कार्यक्रममा सहिदको तस्विरमा अविर आवरण गरी स्थानीयवासीले भावपूर्ण सम्मान अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेका थिए।
सहिद परिवार समाज सल्यानका जिल्ला अध्यक्षसमेत रहेका जेठा छोरा रविकिरण वलीले बुबाको जीवनीलाई स्मरण गर्दै सहिदका सपना पूरा गर्न लागिपर्नुपर्ने बताउनु भयो ।

शिक्षण पेशा त्यागी माओवादी जनयुद्धमा सक्रिय भएका हितैसीले राजनीतिक र सामाजिक जीवनमा छोटो समयमै उल्लेखनीय योगदान पुर्‍याएको स्मरण कार्यक्रममा गरिएको थियो। विद्यालयमा शिक्षक रहँदा शैक्षिक क्षेत्रका लागि गरेका कामदेखि माओवादी पार्टीको तर्फबाट जनताको घरदैलोमा पुगेर गरेका क्रान्तिकारी कार्यलाई नेताहरु र स्थानीयले उच्च सम्मानसहित स्मरण गर्नु भएको हो ।

 

 

२०११ सालमा जन्मिएका भरत प्रसाद ओली हितैसीले लामो समय शिक्षण पेशामा बिताएपछि २०५६ साल भदौ ७ गते आन्तरिक दुर्घटनामा सहादत प्राप्त गर्नु भएको हो ।नेकपा माओवादी केन्द्र सल्यानले सहादत प्राप्त गर्ने सहिदहरूको सम्झनामा जिल्लाभर कार्यक्रम गर्ने निर्णयअनुसार वडास्तरमा स्मृति सभाहरू भइरहेका छन्।

कार्यक्रममा स्वागत मन्तव्य इन्द्र बहादुर भण्डारीले राख्नु भएको थियो भने सञ्चालन वडाध्यक्ष शेर बहादुर वलीले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस