नेकपा एमाले सल्यानको सुझाव संकलन कार्यक्रम सम्पन

३ भदौ २०८२/ सल्यान

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनअन्तर्गत ल्याइएको विधान संशोधन प्रस्तावबारे सल्यानमा सुझाव संकलन गरिएको छ ।

मंगलबार सदरमुकाम खलंगास्थित एमाले पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको बैठकले विभिन्न सुझाव संकलन गरी माथिल्लो तहमा पठाउने निर्णय गरेको हो ।

बैठकमा जिल्ला तथा प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरू सहभागी रहनु भएको थियो । सहभागीहरूले संगठनलाई अझ प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिनु भएको हो।

बैठकका प्रमुख अतिथि एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजङ शाहले सबै तहका कार्यकर्ताले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले सहभागीहरुलाई नागरिकको पक्षमा निरन्तर काम गर्दै पार्टीलाई मजबुत बनाउन निर्देशन समेत दिनु भयो ।

जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेनले वडास्तरदेखि केन्द्रसम्म संगठनलाई एकताबद्ध र गतिशील बनाएर जनताको अपेक्षा पूरा गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

जिल्ला कमिटीको छैठौँ पूर्ण बैठकले जनसंगठनलाई सक्रिय बनाउने, नागरिकसँग प्रत्यक्ष सम्पर्क बढाउने र स्थानीय जनप्रतिनिधिलाई अझ जिम्मेवार बनाउने निर्णय गरेको एमाले सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस