सल्यानको छत्रेश्वरीमा स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम

३१ असार २०८२/ सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिकामा स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम संचालन गरिएको छ ।

गाउँपालिका अन्तर्गत वडानं.६ मा सोही वडाका वडा अध्यक्ष टिकाराम बुढाको व्यक्तिगत लगानीमा २३ पटक सम्म तौल लिएका बालबालिकालाइ पुरस्कृत र सम्मान गरिएको हो ।

उक्त वडामा जन्मेदेखि दुई वर्ष पुग्दासम्म नियमित २३ पटकसम्म तौल लिएका तीन जना बालबालिकालाई मंगलबार विशेष सम्मान गरिएको थियो । ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ अन्तर्गत छानिएका ती बालबालिकालाई वडाध्यक्ष टिकाराम बुढाको आफ्नै व्यक्तिगत लगानीमा एक–एक क्यारेट अण्डा र प्रशंसापत्र सहित सम्मान गरिएको हो ।

प्रतियोगितामा छानिएका बालबालिकाहरूमा लान्तीका मानस्वी रावत, गोदेका सन्दीप बोहरा, सोही ठाउँका डेनिस वली रहेका छन् । ती बालबालिकाहरूले जन्मपश्चात् दुई वर्ष पूरा नहुँदासम्म हरेक पटकको निर्धारित समयमा तौल लिएका थिए । उनीहरूको तौल सधैं उमेर अनुसार सामान्य रहेको र उनीहरूलाई स्वास्थ्य संस्था मार्फत वितरण गरिने ‘बालभिटा’ औषधि पनि पूरा मात्रामा खुवाइएकोले छनौट गरिएको छायाक्षेत्र स्वास्थ्य चौकी इन्चार्ज प्रतिभा बुढाथोकीले जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले यस्तो कार्यक्रमले अभिभावकहरूलाई बालस्वास्थ्यप्रति थप सचेत बनाउने विश्वास व्यक्त गर्नु भयो । नियमित रुपमा बच्चाको तौल लिने आमाहरुलाइ धन्यवाद दिँदै उहाँले सबैलाइ केही समस्या देखिए स्वास्थ्यकर्मीसँग सरसल्लाह लिएर उपचारको लागि अघि बढ्न आग्रह गर्नु भयो । “बच्चा स्वस्थ हुनु भनेको भविष्य बलियो हुनु र यो प्रयास सानो भए पनि यसले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने विश्वास अध्यक्ष बुढाथोकीले लिएको बताउनु भयो ।

पोषणमैत्री स्वास्थ्य संस्था तथा वडा घोषणामा समेत टेवा पुर्याउने उदेश्य सहित यसकिसिमको प्रतिस्पर्धा गराइएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा अध्यक्ष टिकाराम बुढाले आगामी बर्ष यो कार्यक्रमलाइ संस्थागत रुपमै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

पोषण सुधारको लागि समुदायमै सकारात्मक सन्देश दिन र वडा तहबाटै उदाहरणीय पहल गर्न यो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले नियमित तौल लिनुको महत्वबारे जानकारी गराउदै जन्मेदेखि दुई वर्षभित्रको समयमा बालबालिकाको शारीरिक र मानसिक विकासका हिसाबले अत्यन्त संवेदनशील हुने भन्दै नियमित तौलबाट वृद्धिविकास दरको अनुगमन र कुपोषणको पहिचान समयमै गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य सागर नेपाली, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्यकर्मी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस