२० असार २०८२/ सल्यान
सल्यान अस्पताल सल्यानले पेट तथा मुटु सम्बन्धि विशेषज्ञ सेवा संचालनमा ल्याएको छ ।
अस्पतालले विहिवार देखि इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियाग्राफी सेवा संचालनमा ल्याएको हो ।
बिशेषज्ञ सेवाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले सल्यान जिल्ला र छिमेकी जिल्लाका बिरामीहरुको लागी खुसीको विषय भएको बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रावलले पेट तथा मुटु सम्बन्धि विशेषज्ञ सेवा लिनको लागि धेरै पैसा खर्च गरेर जिल्ला बाहिरका अस्पतालमा जानू पर्ने समस्याको अन्त्य भएको बताउनु भयो ।उहाँले सल्यान अस्पतालको स्तरवृद्धिका लागि सरोकारवाला निकायहरुले तदारुकता देखाउनु पर्नेमा जोड दिनु भयो ।समन्वय समिति प्रमुख रावलले सल्यान अस्पताललाई पचास सैयाको बनाउने सन्दर्भमा केही समय पहिले जिल्लाका १० वटै स्थानीय तहको वैठक बसी महत्त्वपूर्ण विषयमा छलफल गरिएको बताउनु भयो ।उहाँले नयाँ विशेषज्ञ सेवालाई प्रभावकारी ढंगले संचालन गर्न अस्पताल परिवारलाई अनुरोध गर्नु भयो ।
सेवा सुचारु गर्दै जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन बुढामगरले पेट र अन्ननलीको भित्रि भागको भिडियो परीक्षण गरी ग्याष्टिक अल्सर,अपच, क्तश्राव र मुटुको समस्याको निदान गर्नको लागी आफुहरुले विशेषज्ञ सेवा सुचारु गरेको बताउँनु भयो ।
उहाँले इन्डोस्कोपी लगायतका सेवा लिनका लागि दाङ नेपालगञ्ज लगायत अन्य ठाउँका अस्पतालमा जानू पर्ने विरामीको बाध्यता लाई अन्त्य गर्नको लागी,जिल्लामै पहिलो पटक विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको बताउँनु भयो ।अस्पताल प्रमुख बुढामगरले इन्डोस्कोपी मुखदेखि पेटसम्म समस्या पहिचान गर्नका लागि गरिने र कोलोनोस्कोपी दिसा आउने भाग वा मलद्धारबाट पाइप छिराएर मलद्धारको भित्री अवस्था र ठुलो आन्द्राको अवस्था परीक्षण गरिने बताउँनु भयो ।
यस्तै अस्पतालमा मुटु रोग पहिचानका लागि इकोकार्डियोग्रामी सेवा समेत सुरु गरिएको छ । पछिल्लो समयमा विश्वभर मुटु रोगका बिरामी बढ्दै गएको र सल्यानमा पनि उक्त समस्यालाई समाधान गर्नको लागी इकोकार्डियोग्रामी सेवा विस्तार गरिएको डाक्टर बुढामगरले बताउँनु भयो । उहाँले सल्यान लगाएत अस्पतालमा आउने छिमेकी जिल्लाका बिरामीहरुको उपचारलाई प्रभावकारी बनाउनको लागि आफुहरु लागि परेको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै अस्पताल विकास समितीका अध्यक्ष प्रमोद श्रेष्ठले सिमित स्रोत साधन, जनशक्तिको अभावका बिच पनि नागरिकलाई जिल्लामै प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न आफुहरु
लागी परेको बताउनु भयो । उहाँले सिमित स्रोत साधनका बावजुद पनि सेवा विस्तार गरि रहेको र अझै गुणस्तरीय सेवा दिनको लागी
संघ र प्रदेश संघ आवश्यक वजेट बिनियोजनका लागि माग गर्दै आएको तर दुवै सरकारले भने जति बजेट उपलब्ध नगराएको बताउनु भयो ।
श्रेष्ठले ५० शैयाको अस्पताल बनाउन सके सल्यान लगायत छिमेकी जिल्लाका बिरामीलाई सेवा प्रदान गर्न सहज हुने समेत बताउनु भयो ।इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियाग्राफी लागतमा सामाग्री खरिद गर्न कर्णाली प्रदेश सरकारको एक करोड बजेट खर्छ भएको बताउनु भयो।
सल्यान अस्पताल विकास समितीका अध्यक्ष प्रमोद श्रेष्ठलको अध्यक्षतामा भएको बिसेसज्ञ सेवा उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असविर बुढाथोकी,शारदा नगरपालिका सल्यानकी उपप्रमुख सुस्मिता सापकोटा,प्रमुख जिल्ला अधिकारी नेत्र प्रशाद सुवेदी,सल्यान जिल्लाका प्रहरी प्रमुख केशर न्यौपाने,सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगाएत सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले गर्नु भएको थियो।