१८ असार २०८२/ सल्यान
कर्णाली प्रदेश सरकारले सल्यानका तीन जना प्रधानाध्यापकलाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरेको छ।
शैक्षिक सत्र २०८१/०८२ मा शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै प्रदेश सरकारले तिन जना प्रधानाध्यापकहरुलाई उत्कृष्ट शिक्षकका रुपमा घोषणा गरेको हो ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश शिक्षा विकास निर्देशनालय, सुर्खेतले शिवजन माध्यमिक विद्यालय शारदा नगरपालिका १ शितलपाटीकी प्रधानाध्यापक जीवनी रावत, निराजन माध्यमिक विद्यालय सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरका प्रधानाध्यापक धर्मराज घर्ती र कालिका आधारभूत विद्यालय छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराका प्रधानाध्यापक बालाराम ओली लाई नगद ३५ हजार रुपैयाँ र प्रशंसा–पत्र सहित सम्मान गरेको हो । तीनैजना प्रधानाध्यापकहरु लाई सल्यान जिल्लाको उत्कृष्ट शिक्षकका रूपमा चयनका साथ सम्मान गरिएको थियो।
सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतम, प्रदेश शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमाल लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षकहरूको सम्मानले शिक्षण पेशाको मर्यादा बढ्ने र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रको गुणस्तरीयता लाई अझै फराकिलो बनाउन शिक्षकहरुको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।
सरकारले सल्यानबाट तीन जना शिक्षक सहित कर्णाली प्रदेशभर बाट ३० जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरेको हो ।