२ जेठ २०८२/ सल्यान
कृषि विकास कार्यालय सल्यान द्वारा संचालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ ।
कार्यालय द्वारा आर्थिक बर्ष २०८१/०८२ मा जिल्लाका विभिन्न स्थानीय तहमा संचालित योजनाहरुको अनुगमन गरिएको हो ।
आइतबार दार्मा गाउँपालिका वडा नं.५ ढाकाडाममा निर्माण हुँदै गरेको रष्टिक स्टोर ( आलु बिउ भण्डारण घर ) बागचौर नगरपालिका वडा नं.७ खारामा निर्माण हुँदै गरेका सिचाइ पोखरी र प्लास्टिक टर्नेल, वडानं. ४ र छ्त्रेश्वरी गाउँपालिका वडानं.१ मा निर्माण हुँदै गरेका सिचाइ पोखरीको अनुगमन गर्दै कृषि विकास कार्यालय सल्यानका,कार्यालय प्रमुख महेश आचार्यले ढिला सुस्ती भएका योजनाहरु लाई तिब्रताका साथ सम्पन्न गर्न र योजनाहरुको गुणस्तरीयता लाई प्रभावकारी बनाउनको लागी अनुगमन लाई तीव्रता दिएको बताउँनु भयो ।
कार्यालय प्रमुख आचार्यले चालु आर्थिक बर्ष २०८१/०८२ मा आफुहरुले सिचाइ आयोजनाहरुलाई प्राथमिकतामा राखेर काम गरेको र सिचाइ आयोजनाहरुको निर्माण कार्यमा समेत उल्लेखनिय प्रगती भएको जानकारी दिदै, आयोजना संचालन बाट किसानले भरपुर लाभ लिन सक्ने अपेक्षा रहेको बताउँनु भयो ।
उहाँले सिचाइ आयोजनाहरुलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउदा ,सुन्तला,आलु,तरकारी लगाएत अन्य कृषि जन्य बस्तुको उत्पादनमा वृद्धि हुने र जनताको आर्थिक अवस्थामा समेत परिवर्तन आउने भएकाले त्यस तर्फ आफुहरु लागी परेको बताउनु भयो ।
आचार्यले चालु आर्थिक बर्ष २०८१/ ०८२ मा कृषि विकास कार्यालयको तर्फबाट ३ करोड ३९ लाख बराबरका सिचाइ आयोजनाको काम संचालनमा आएको, त्यस मध्य ५८ वटा योजनाहरु प्रदेशले तोकेर पठाएको र ५४ लाख बराबरका योजनाहरु कृषक समूह,सहकारी तथा फर्महरुको माग अनुसार, कार्यालयको सिफारिसमा प्रदेश सभा सदस्य र स्थानिय तहका प्रमुख सहितको समितिले निर्णय गरि जिल्लाका विभिन्न स्थानमा संचालन भएको बताउँनु भयो ।
कार्यालय प्रमुख आचार्यले कृषि विकास कार्यालय सल्यानले जेठ मसान्तसम्म ६३ प्रतिशत वित्तीय प्रगति गरेको र असार मशान्त भित्र
८० प्रतिशत भन्दा बढी प्रगति गर्ने लक्ष्य सहित काम गरिरहेको बताउँनु भयो ।
कृषि विकास कार्यालय सल्यान द्वारा संचालित आयोजनाहरुको अनुगमन कार्यक्रममा, कार्यालय प्रमुख महेश आचार्य,सूचना अधिकारी इश्वरी नारायण घर्ती,सव इन्जिनियर बिक्की बाबु बुढाथोकी,प्राविधिक सहायक बसन्त के.सी. फिल्ड प्राविधिक भिम बहादुर डाँगी र पत्रकार दिपसागर भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।