२९ जेठ २०८२/ सल्यान
जिल्ला विपत व्यवस्थापन समिति सल्यानले सरोकारवाला निकाय संग वैठक सम्पन्न गरेको छ ।
विहिवार प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षतामा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न सरोकारवाला निकाय संग बसेको वैठकले विभिन्न निर्णय समेत पारित गरेको छ ।
जिल्लामा बर्षाको जोखिमका सन्दर्भमा भएको वैठकमा सम्भावित विपद् व्यवस्थापन तथा बाढी–पहिरो र डुबानको पूर्वतयारीका लागि महत्वपूर्ण निर्णयहरू गरिएको हो ।मनसुन शुरु भएपछि सल्यानमा बाढी पहिरो तथा डुवानको जोखिमबाट सुरक्षित बनाउन समुदायको सुरक्षाका लागि पूर्वतयारी योजना तयार गर्ने निर्णय गरेको हो।

यस्तै विपद सम्भावित क्षेत्रमा मापदण्ड अनुसार स्थान पहिचान गरी सुरक्षित स्थानमा सार्न,खोज तथा उद्धार टोली तयारी अवस्थामा राख्न र संचार संयन्त्र सक्रिय बनाउन समेत निर्णय गरिएको छ ।
साथै बाढी र पहिरो बारे थाहा पाउनका लागि मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ मा फोन गर्न सकिने जानकारी पनि दिइएको छ। सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी निकायहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ भने संचार माध्यमलाई सूचना सम्प्रेषण गर्न तथा जनचेतनामूलक सन्देश प्रसारण गर्न अनुरोध गरिएको छ।
बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कायार्लयका प्रमुख तथा प्रतिनिधि, संघसंस्था, पत्रकार महासंघ तथा रेडक्रसका पदाधिकारीको सहभागिता रहेको थियो ।
सहभागीले विपदमा चाहिने हरेक सामाग्रीलाइ सहि अवस्थामा राख्नुपर्ने र अवश्यक पर्दा सबै जुटेर लाग्नुपर्ने जोड दिएका छन् ।
यसबर्षको मनसुन छिटो र धेरै हुने मौसम विदहरुको भनाई अनुसार
प्रतिकार्य योजनामा जुट्नुपरेको र स्थानीय तहहरूलाइ झन जिम्मेवार बन्न वैठकमा आग्रह गरिएको थियो ।