२३ जेष्ठ २०८२/ सल्यान
विश्व वातावरण दिवसको अवसरमा सल्यानका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन गरिएको छ ।
प्लाष्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ
डिभिजन वन कार्यालय सल्यानको आयोजनामा शारदा नगरपालिका वडानं.५ रानीकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा उक्त स्थानमा करिब दुई सय रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेतीको सुरुवात गरिएको बताइएको छ । कफि खेतिको सुरुवात रानिकोट एग्रो इन्डस्ट्रीले सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख असविर बुढाथोकी, डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावल, शारदा नगरपालिका वडानं.५ का वडा अध्यक्ष प्रदीप शाही लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।
यस्तै विश्व वातावरण दिवसको अवसरमा छत्रेश्वरी गाउँपालिका वडा नं. ५ बागबजारमा ‘प्लाष्टिक प्रदूषणको समाधान, एकसाथ अघि बढौं’ भन्ने नाराका साथ सरसफाइ र्याली, फोहर संकलन तथा व्यवस्थापन, डस्टविन वितरण गरिएको थियो । वास इकाईको आयोजनामा, आइ एम स्वीडीस डेभलपमेन्ट पार्टनर र दलित विकास समाज सल्यानको सहकार्यमा,वडा अध्यक्ष फौद बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले वातावरण संरक्षणका लागि प्लास्टिक प्रयोग घटाउन, वन र पानीका स्रोतको संरक्षण गर्न तथा जनचेतना फैलाउन सबैलाई आग्रह गरेको वडा अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।
विश्व वातावरण दिवसकै अवसरमा वनस्पति अनुसन्धान केन्द्र सल्यान, कपुरकोट सबडिभिजन वन कार्यालय, बजार व्यवस्थापन समिति, स्थानीय विद्यालय, वित्तीय संस्था तथा आम नागरिकको सहभागितामा,कपुरकोट गाउँपालिका क्षेत्रमा समेत वातावरण दिवस विशेष कार्यक्रम गरेर मनाइएको हो ।कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सुरु भई कपुरकोट बजार क्षेत्र हुँदै मूलपानी बजारसम्म सरसफाइ गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले जानकारी दिनुभयो । प्रमुख वन अधिकृत मुकुन्द पौडेलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अभियानको प्रभावकारिता उल्लेख गर्नुभयो । उक्त कार्यक्रमकै निरन्तरतामा, गत वर्ष निर्माण सुरु गरिएको ग्रीन बेल्ट जोन,जसअन्तर्गत करिब ४ किमी क्षेत्रफलमा कपुर, मलागिरी, काफल, गुराँस, रुद्राक्ष, तेजपात जस्ता बिरुवाको वृक्षारोपण गरिएको थियो।त्यसको पनि उद्घाटन वातावरण दिवसकै अवसरमा गरिएको थियो भने,कपुरका विरुवा रोपणसहित सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।