सल्यानमा किसानलाई मिनि टिलर बितरण

२० जेठ २०८२/ सल्यान

सल्यानमा किसान हरुलाई मिनि टिलर बितरण गरिएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पालिका भित्रका किसानलाई खेतवारी जोत्ने मिनि टिलर बितरण गरेको हो ।

मंगलवार भोटेचौरमा एक कार्यक्रमका बिच ३९ जना किसानलाई मिनि टिलर बितरण गरिएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ।

कृषिमा आधुनिक प्रविधिको प्रवर्द्धन तथा श्रम लागत घटाउने उद्देश्यले गाउँपालिका भित्रका कृषक समूह, सहकारी तथा व्यवसायीक कृषकहरूलाई मिनी टिलर वितरण गरेको हो ।
किसानलाई मिनि टिलर बितरण गर्दै छत्रेश्वरी गाउँपालिका सल्यानका अध्यक्ष ओज बहादुर बुढाथोकीले,स्थानीय स्तरमा कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै यो कार्यक्रम सञ्चालन गरिएको बताउँनु भयो ।उहाँले सल्यान जस्तो क्षेत्रमा ठुला ट्याक्टरले जमिन जोत्न सम्भव नहुने भएकाले हाते मेसिनले किसानलाई सुविधा दिने भन्दै समूहका सबैले उपयोग गर्न आग्रह गर्नु भयो । मेसिन प्रयोगको अवस्थाबारे गाउँपालिकाबाट अनुगमन समेत हुने अध्यक्ष बुढाथोकीको भनाई छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष बुद्वा खत्रीले विगतदेखि नै निरन्तर रुपमा कृषि यान्त्रीकरणमा जोड दिइएको भन्दै उहाँले माग धेरै भएकाले आगामी वर्षमा पनि छुटेका व्यवसायीक समूह तथा किसानलाई वितरण गरिने बताउँनु भयो ।उहाँले अझै पनि परम्परागत उपकरणको प्रयोग गर्दै आएका किसानहरूले अब आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत उत्पादनमा वृद्धि गर्नुपर्छ भन्ने सोच बनाउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

तरकारी उत्पादन कृषक समूह सांघारमुलका सचिव कृपाराम वलीले धेरै समय लगाएर जोत्नुपर्ने जमिन अब हाते ट्याक्टरले केही घण्टामै जोत्न सकिने भन्दै गाउँपालिकाको अनुदानले राहत मिलेको बताउनु भयो । आफ्नो समूहका किसानले काँक्रा, सिमी, बोडी, खुर्सानी, तिते करेला लगायतका तरकारी खेती गर्दै आएको भन्दै उहाँले व्यवसायीक कृषिका लागि हौसला मिलेको बताउँनु भयो ।यस्तै छत्रेश्वरी, ७ रावत गाउँका किसान राम बहादुर रानाले खेतबारी जोत्न छिटो छरितो हुने भन्दै आगामी दिनमा थप सहयोगको अपेक्षा व्यक्त गर्नु भयो ।

गाउँपालिकाले कृषक समूह तथा किसानहरुबलाइ दरखास्त आह्वान गरी आयआर्जनमुखी कृषि गर्ने, मेहनती र नियमित रूपमा खेत जोत्दै आएका किसानहरूलाई प्राथमिकतामा राखेर स्थलगत अनुगमन पश्चात् छनोट गरेको कृषि विकास शाखाका प्राविधिक सहायक दीपक पुनले जानकारी दिनु भयो । कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि बमोजिम तोकिएको मापदण्ड अनुसार मूल्याङ्कन गरेर कृषि यन्त्र वितरण गरिएको उहाँको भनाई छ । पुनका अनुसार एउटा मिनी टिलरको कुल मूल्य ४९ हजार ९११ रुपैयाँ रहेको र यसमा कूल लागतको ५० प्रतिशत गाउँपालिकाले व्यहोरेको र बाँकी रकम किसानले बुझाएर उपकरण लिएको बताइएको छ ।

मेसिन वितरण कार्यक्रममा किसानहरूलाई मेशिनको सही प्रयोग, नियमित मर्मत, इन्धनको खपत र सुरक्षाका उपायहरूबारे पनि जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस