सल्यानका थप दुई स्थानमा भेटियो रुख उन्यु

४ जेष्ठ २०८२/ सल्यान

सल्यानको दार्मा गाउँपालिकामा थप दुई ठाउँमा रुख उन्यु भेटिएको छ ।

 


केही समय पहिले जिल्लाको दार्मा गाउँपालिका ३ को धुलखर्क सामुदायिक वन र कपुरकोट गाउँपालिका ४ को कालिका सामुदायिक वनमा फेला परेको उक्त रुख उन्यु थप दुई ठाउँमा फेला परेको हो ।

वैज्ञानिक हिसाबले साइथिया स्पाइनुलोसा, नेपालीमा (रुख उन्यु) तथा स्थानिय रुपमा रुख डउरे भनेर चिनिने दुर्लभ विरुवा सल्यान एवं पश्चिम नेपालमा पहिलो पटक भेटिए पछि आफुहरुले थप खोजी तथा संरक्षण अभियान चलाएको वनस्पित अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा. मित्र पाठकले बताउँनु भयो ।

उहाँले अभियानकै चरणमा दार्मा गाउँपालिका ३ का थप दुइ ठाउँमा पनि रुख उन्यु भेटिएको र लोपोन्मुख रहेको रुख उन्युको संरक्षणका लागि सम्बन्धित स्थानीय सरकार र उपभोक्ता समूह बिच छलफल तथा अन्तरक्रिया गरि रहेको बताउँनु भयो ।छलफलमा दार्मा गाउपालिकाकी उपाध्यक्ष जुना मल्ल चन्दले रुख उन्यु संरक्षणका लागि आफुहरुले गाउँपालिकाको तर्फबाट सक्दो पहल गर्ने बताउनु भएको छ । उपाध्यक्ष मल्लले उन्युलाई संरक्षण गर्न तारबार लगायतको व्यवस्थापन गर्ने बताउँनु भयो ।

 

नेपालमा पाइने रुख उन्यु (साइथिया) का चार प्रजाती साइटिसमा सुचिकृत भएको र ती मध्ये उपस्थिति र फैलावटको आधारमा दुइलाई संकटापन्न, एउटा लाइ दुर्लभ र एउटा साइथिया स्पाइनुलोसा लाइ कम चासो (हराउँदै गइरहेको) को रुपमा मूल्याङ्कन गरिएको डाक्टर पाठकले जानकारी दिनु भयो ।

फरक फरक देशहरुले फरक फरक सूचीकृत गरे अनुसार साइथिया
स्पाइनुलोसालाई कतै दुर्लभ त कतै थ्रेटन अनि कतै लिस्ट कन्सर्न प्रजाति मानिन्छ । नेपालले भने लिस्ट कन्सर्नमा राखेको छ । देश अनुसार बासस्थान पनि थोरै फरक फरक देखिन्छ । नेपालमा यसको उपस्थिति ७५० मिटर देखि २००० मिटर पूर्व र मध्य नेपाल भनिएको छ भने ताइवानमा ३०० मिटरदेखि २५०० मिटरको उचाइमा घना, गाढा जंगलहरूमा पाइन्छ । थोरै संख्यामा भएकोले यसलाइ जोगाउन चुनौतीपूर्ण रहेको पाइन्छ ।

 

काँडेदार फर्न रूख भनेर चिनिने साइथिया स्पिनुलोसाको परम्परागत औषधि, खाना र सजावट सहित विभिन्न प्रयोगहरू छन्। यसलाई परम्परागत औषधिमा छाला, मिर्गौला र आँखाको संक्रमणको उपचारको लागि र क्यान्सर तथा मधुमेह तथा क्षयरोगहरूको लागि पनि प्रयोग गरिन्छ ।

वनस्पित अनुसन्धान केन्द्र सल्यानले रुख उन्यु लगायत सल्यान र आसपास पाइने दुर्लभ र संकटापन्न विरुवाहरु काकरसिङी, वन चाँप, सुनाखरी, सिप्लीकान, टटेलो लगायतको संरक्षणका लागि उद्यानमा ल्याएर थप उत्पादन एवं संरक्षण, सचेतना अभियान तथा सामुदायिक वनमा पुनःरोपणको काम पनि गरिरहेको छ ।

केन्द्रको मूलपानी वनस्पति उद्यानमा संरक्षित झन्डै छ सय प्रजातीका विरुवा मध्ये सुनाखरी सहित ७० प्रतातीका विरुवा दुर्लभ, संकटापन्न तथा जंगली अवस्थामा निकै कम हुदै गइरहेका विरुवा रहेको केन्द्रका सूचना अधिकारी दामोदर दहालले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस