मानसिक स्वास्थ्य नमुना पालिका बारे अभिमुखिकरण सम्पन

१० वैशाख २०८२/ सल्यान

सल्यानको बागचौर नगरपालिकामा मानसिक स्वास्थ्य नमुना पालिका बारे अभिमुखिकरण गरिएको छ ।

नगरलाई मानसिक स्वास्थ्य नमुना पालिका बनाउने नेपाल सरकारको कार्यक्रम अनुरुप मंगलवार भएको अभिमुखिकरणमा बोल्दै बागचौर नगरपालिकाकी उप-प्रमुख सुम्निमा डिसी( वली)ले
नगरपालिका भित्र व्याप्त रहेको आत्महत्याको न्यूनीकरणमा नगरसरकार लागी परेको बताउँनु भयो ।उहाँले समुदाय स्तरमा बेरोजगारी, गरीबी, वैदेशिक रोजगारी, आर्थिक अभाव, बाल विवाह, प्रेम सम्बन्ध, ऋण लगायतका कारणले मानसिक स्वास्थ्यमा समस्या पर्दै आएको र त्यसले मान्छेलाई आत्महत्या सम्म पुर्‍याउदै आएको बताउँनु भयो । अभिमुखिकरण कार्यक्रमकी अध्यक्ष समेत रहनु भएकी नगर उपप्रमुख वलीले नगरपालिका संग साझेदारीमा संचालन भएका सामी कार्यक्रम र सी.एम.सी.नेपालले केही हद सम्म मानसिक समस्याका बिरामीहरुको समस्या लाई समाधान गर्दै आएको र क्रमिक रुपले आत्महत्या गर्ने प्रचलनको न्यूनीकरण हुँदै आएको बताउँनु भयो ।उहाँले दुवै परियोजनाहरुले मानसिक स्वास्थ्यमा प्रभाव पार्ने बिषय बस्तुमा रहेर कार्यक्रम संचालन गर्दै आएको बताउँनु भयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन डाक्टर केदार मरहट्टाले
नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको बताउँनु भयो ।उहाँले यसमा प्राथमिकताका साथ तिनै तहका सरकारले लगानी बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।डाक्टर मरहट्टाले नेपालमा आत्महत्याबाट प्रत्येक दिन करिव २० जनाले ज्यान गुमाउँदै आएको बताउँनु भयो । उहाँले मानसिक स्वास्थ्य समस्याको मुख्य कारण पत्ता लगाएर त्यसलाई न्यूनीकरण गर्न सरकार प्रतिबद्ध हुनु पर्ने बताउँनु भयो ।

अभिमुखिकरणमा बागचौर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनय डिसीले नगरपालिका भित्र सी.एम.सी,नेपाल सँगको सहकार्यमा मानसिक स्वास्थ्य कार्यक्रम संचालन भैरहेको बताउँनु भयो । उहाँले पछिल्लो समय बागचौर नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा उपचार सेवा लिने सेवाग्राहीहरुको सङख्या बृद्धि भईरहेको बताउनुभयो । बजेट अभावका कारण मानसिक स्वास्थ्य सम्बन्धिका कार्यक्रमहरु व्यापक रुपमा अगाडि बढाउन नसकिएको शाखा प्रमुख डिसीले बताउँनु भयो ।

सी.एमसी नेपालका कार्यक्रम अधिकृत अनत चौधरीले प्रवर्द्धन परियोजना मार्फत बिभिन्न क्रियाकलाप गरी आत्महत्या न्युनीकरणका लागि महत्चपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य स्वावलम्वन समुह परिचालनबाट जनचेतनामुलक कार्यक्रम अगाडि बढाउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग एवं बागचौर नगरपालिकाको समन्वयमा कार्यक्रम भईरहेको र कार्यक्रम विभिन्न चरणमा बैशाख ९ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिने महाशाखाका मानसिक स्वास्थ्य फोकल पर्सन टेकराज डि.सी.ले बताउँनु भयो ।

अभिमुखीकरण कार्यक्रममा बागचौर नगर उप-प्रमुख सुम्निमा डि. सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायत, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका शाखा प्रमुखहरु, शिक्षक, स्वास्थ्य संस्थाका प्रतिनिधीहरु, नेपाल प्रहरी, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस