९ वैशाख २०८२/ सल्यान
सल्यानको कालिमाटी गाउँपालिकामा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न गरिएको छ ।
सोमबार गाउँपालिका अन्तर्गत रामपुर स्वास्थ्यचौकीमा संचालन गरिएको शिविरमा ५५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।कालिमाटी गाउँपालिकाको आयोजना, अपाङ्गता बाल अस्पताल पुन:स्थापना केन्द्र, बनेपा र बी एण्ड बी अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा शारीरिक अपाङ्गता सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।
एक दिवसीय शिविरमा सेवाग्राहीहरूको सूक्ष्म परीक्षण तथा मूल्याङ्कनपछि उनिहरुको दैनिकी लाई सहज बनाउनको लागि हुइलचियर लगाएतका सहायक सामग्रीहरू वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिनु भयो ।उहाँले शिविरमा गम्भीर प्रकृतिका शारीरिक समस्या भएका केही अशक्त व्यक्तिहरूलाई थप उपचार तथा पुनःस्थापना सेवाका लागि बनेपा र काठमाडौँस्थित सम्बन्धित संस्थाहरूमा सिफारिस (रिफर) गरिएको बताउनु भयो ।
अध्यक्ष केसीले शिविरमा विभिन्न उमेर समूहका नागरिकहरूको सहभागिता रहेको र अपाङ्गता भएका व्यक्तिहरूप्रति गाउँपालिका तथा संस्थाको सहानुभूति र सेवा प्रवाहले पालिका भित्रका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक ऊर्जा थप्ने विश्वास लिइएको बताउनु भयो ।उहाँले गाउँपालिका वासीको लागि यस्ता सकारात्मक कार्यहरु आगामी दिनहरुमा पनि निरन्तर गरिने बताउँनु भयो ।